गोरखा, १३ फागुन । पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन (पासाङ) ले मंंगलबार गोरखा दरबार सङग्राहलय र गोरखकाली मन्दिरको अवलोकन गर्नुभएको छ । बारपाक सुलिकोट गाउँपालिकाले जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको २९ औँ स्मृति दिवसको अवसरमा भोली गाउँपालिकाको वडा नम्बर ८ स्थित पन्द्रुङमा आयोजना गर्न लागेको स्मृति दिवस कार्यक्रममा सहभागी हुन गोरखा आइपुग्नु भएका उहाँले प्रसिद्ध धार्मिकस्थलको रुपमा परिचित कालिका मन्दिर र ऐतिहासिक गोरखा दरबार सङग्राहलयको अवलोकन गर्नुभएको हो ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय उत्पादन विभागका प्रमुख समेत रहनु भएका उहाँले सदरमुकामको पाटेचौरमा रहेको जिल्ला पार्टी कार्यालयको अवलोकन पनी गर्नुभएको पार्टीका गोरखा जिल्ला इन्र्चाज अमर तमुले जानकारी दिनुभयो । पूर्व उपराष्ट्रपति पुनः आज बारपाक सुलिकोट गाउँपालिकाको ताकुकोट पुगेर भोली विहान त्यहाँ आयोजना गर्न लागिएको कार्यक्रममा सहभागी हुनुहुनेछ ।
तत्कालिन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र जनयुद्धका क्रममा राज्यपक्षबाट मारिनु भएका दिलबहादुर रम्तेलको सम्झना र सम्मानमा स्मृति दिवस मनाउन लागिएको बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष बिष्णुप्रसाद भट्टले जानकारी दिनुभयो । दिवसको अवसरमा गाउँपालिकाको आयोजनामा सहिद परिवार सम्मान, प्रगतीशिल साहित्यिक विर्मस, कार्यक्रम, पालिका भित्रका माध्यामिक विद्यालयतहको वक्तृत्वकला प्रतियोगितालगायतका कार्यक्रम सञ्चालन हुने उहाँले बताउनुभयो ।
नेपाल प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा यसपटक रम्तेलको स्मृति दिवसमा प्रगतीशिल साहित्यिक विर्मस कार्यक्रम गर्न लागिएको हो । सहिद दिल बहादुर रम्तेल स्मृति पार्क तथा जनयुद्ध संग्राहलयमा कार्यक्रमको आयोजना गरिएको हो । बि.स २०५२ साल फागुन १४ गतेका दिन गोरखाको पुन्द्रुङ स्थित ब्रम्हाचारिणी निमाविको कक्षा चारमा अध्ययनरत ११ वर्षीय विद्यार्थी दिलबहादुर रम्तेललाई माओवादीलाई सघाएको आरोपमा विद्यालय हाताभित्रै सुरक्षाकर्मीले हत्या गरेका थियो ।