काठमाडौ, २९ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासले बन्दी रिहाइ नगरे युद्ध विराम भङ्ग गर्ने चेतावनी दिनुभएको छ । राष्ट्रपति ट्रम्पले हमासका लागि बन्दी रिहाइको समयसमेत दिँदै शनिवार १२ बजेसम्म रिहाइ नभएमा अर्को दुर्घटना हुनसक्ने चेतावनी दिनुभएको हो ।
ट्रम्पले भनेको समय मध्य दिनको १२ बजे या मध्य रातको १२ भन्ने खुलेको छैन । हमासका प्रवक्ता अबु देबाइले विज्ञप्ति जारी गर्दै गाजामा विस्थापित भएकालाई फर्कन अवरोध सिर्जना गरिएको, मानिसमाथि आतङ्क फैलाइएको र आक्रमण गरिएको भन्दै बन्दी रिहाइको प्रक्रिया रोक्ने चेतावनी दिनुभएको थियो ।
हमासले यसलाई युद्ध विराम उल्लङ्घनको सङ्ज्ञा दिएको छ । युद्ध विराम उल्लङ्घनको नाममा हमासले बन्दी रिहाइको प्रक्रिया रोक्ने चेतावनी दिए लगत्तै ट्रम्पले यस्तो प्रतिक्रिया दिनु भएको हो ।