गोरखा, १० माघ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रचार विभागका प्रमुख एवं उपमहासचिव प्रदीप ज्ञवालीले एमाले चौतर्फी घेरबन्दी तोडेर अघि बढीरहेको बताउनु भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी गोरखाको आयोजनामा आज सदरमुकाममा आयोजित जिल्ला स्तरीय अगुवा कार्यकर्ता अभिमुखीकरण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।
उपमहासचिव ज्ञवालीले विगतदेखि नै एमाले माथि बिभिन्न ढंगबाट घेराबन्दीको प्रयास भइरहेको भन्दै सवैखालका जटिलतालाई तोडेर पार्टी अहिलेको अवस्थासम्म आइपुगेको उल्लेख गर्नुभयो । ‘‘विगतमा जहाँ हामीले निर्वाचनमा सहभागी नै हुन पाउँदैनौँ थियौ, त्यहाँ अहिले हाम्रो राम्रो उपस्थिती छ, उहाँले भन्नुभयो, ‘‘त्यस्ता ठाउँमा हामीले निर्वाचन जितेका छौ, हामी नभएपनि पनि हुन्छ भन्ने स्थानमा अहिले हामी विना नभई नहुने अवस्था बनेको छ ।’’
उहाँले विसं २०४८ सालदेखि नै देशभर पार्टीको ‘ग्राफ’ निरन्तर उकालो लाग्दै गएको उल्लेख गर्नुभयो । गत निर्वाचनलाई हेर्दा देशभरका ४४ जिल्लामा समानुपातिक मतका आधारमा एमाले पार्टी पहिलो र २४ जिल्लामा दोस्रो रहेकोे उल्लेख गर्नुहुँदै उहाँले गोरखा जिल्लामा पार्टीको स्थितीलाई बदल्नै पर्ने अवस्था रहेकोमा जोडदिनुभयो ।
‘‘सधैभरी एउटा तरिकाबाट हिडेर गन्तव्यमा पुगिएन भने अलिकती शैली र तौरतरिका बदल्नु पनि पर्छ, उपमहासचिव ज्ञवालीले भन्नुभयो,‘‘यसका निम्ति एकदमै सकारात्मक ढंगले सोचेर अघि बढ्नुहोस् ।’’ उहाँले २०७९ सालको निर्वाचनमा पार्टीले केही धक्काको सामना गर्नुपरेको भन्दै प्रतिपक्ष दलका गढहरुलाई विस्तारै एकपछि अर्को गर्दै भत्काउदै जानुपर्ने बताउनुुभयो ।