Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

सुशासन र सम्बृद्धिको पक्षमा काम गर्दा सरकार ढल्यो : पूर्वप्रधानमन्त्री दाहाल


3.1K
Shares

सुशासन र सम्बृद्धिको पक्षमा काम गर्दा सरकार ढल्यो : पूर्वप्रधानमन्त्री दाहाल

गोरखा, ९ माघ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुशासन र सम्बृद्धिको पक्षमा काम गर्दा आफ्नो नेतृत्वको सरकार ढलेको बताउनु भएको छ ।

सदरमुकामस्थित श्री नवज्वोती माध्यामिक विद्यालयको स्वर्ण जयन्तीको समापन कार्यक्रमलाई सोमबार सम्बोधन गर्नुहुँदै उहाँले पछिल्लो पटकको १८ महिने सरकारको कार्यकालमा आफुले सुशासनको बिषयलाई गम्भीरताका साथ अगाडी बढाउन प्रयास गरेको बताउनुभयो ।

‘‘मेरो नेतृत्वको सरकार हुँदा राजनीतिक पार्टीका नेताहरु, कर्मचारीका हाकिमहरु, भूमाफियाहरु, दलाल र बिचौलिया कोही पनि गलत गर्नेहरु जोगिने स्थिति नै थिएन्, पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो, ‘‘सुशासनको अभियानको क्रममा एकपछि अर्को कारवाहीमा पर्दै गएपछि सरकार ढल्ने अवस्था आयो ।’’

राम्रो काम गर्दा सरकारबाट बाहिरिन बाध्य पारिएको भन्दै गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका सासंद समेत रहनु भएको उहाँले सरकारमा हुँदा गरिएका सवै राम्रा काम गोरखाका जनता र मतदाताको अभिमतको वलमा भएको उल्लेख गर्नुभयो ।

‘‘पहिलो पटक सरकारको नेतृत्व गर्दा होस् वा पछिल्लो पटक सरकारको नेतृत्व गर्दा होस् सुशासन, सामाजिक न्याय र आर्थिक सम्बृद्धिका निम्ति अगाडी बढ्ने जर्मको हामीले ग¥यौँ, उहाँले भन्नुभयो, ‘‘नेपालको इतिहासमा सुशासनको पक्षमा, बेथिती र बिसंङगती र भ्रष्टाचारको बिरुद्धमा त्यति ठूलो अभियान सरकारबाट पहिलो पटक नै भएको हो ।’’

सरकारको नेतृत्वमा रहँदा छिमेकी राष्ट्र भारत, चीन, इटाली, अमेरिकालगायतका अन्तराष्ट्रिय मन्चहरुबाट नेपाल र नेपाली जनताको बृहत्तर हितमा आफुले आवाज उठाएको बताउँदै पूर्वप्रधानमन्त्री दाहालले यसले अन्तराष्ट्रिय समुदायमा नेपाल र नेपाली जनताको छवी उँचो बनेको बताउनुभयो ।

विहान गोरखा आइपुग्नु भएका उहाँले आजै गोरखा नगरपालिका–८, स्थित श्री सरस्वती माध्यामिक विद्यालयको स्वर्ण जयन्ती तथा ५३ औँ अभिभावक दिवस समारोहको पनि एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology