Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

गजामा युद्धविराम कार्यान्वयन आजदेखि, हमासले छाड्दैछ तीन बन्धक


1.8K
Shares

गजामा युद्धविराम कार्यान्वयन आजदेखि, हमासले छाड्दैछ तीन बन्धक

एजेन्सी, ६ माघ । इसराइल हमासबीचको युद्धविराम सम्झौता आजदेखि कार्यान्वयन हुँदैछ । एक सातादेखिको प्रयासपछि शुक्रबार इसराइलले हमासमा युद्धविराम गर्न सहमति गरी मन्त्रिपरिषदबाट अनुमोदन गरेको थियो ।

समाचार संस्था रोयटर्सका अनुसार आइतबार मध्याह्न हमासले तीन बन्धक छाड्ने छ। बन्धकमुक्त हुने तीनै जना इसराइली महिलाहरू रहने पनि रोयटर्सले जनाएको छ । हमासले तीन बन्धक छाड्दा इसराइली जेलमा रहेका ९० जना कैदी रिहा हुनेछन् । सम्झौतामा एक महिला बन्धक हमासले छाडेबापत इसराइलले ३० कैदी रिहा गर्ने भनिएको छ ।

हमासले बन्धकमुक्त गरेकाहरूलाई रेड क्रसले इसराइल पुर्‍याउनेछ । सम्झौता कार्यान्वयन गर्नुअघि इसराइली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले सम्झौता अनुसार बन्धकहरू नछाडिए वा सम्झौता कार्यान्वयन तलमाथि भए गजामा पुनः आक्रमण गर्ने र त्यसका लागि अमेरिकाले पनि सहमति दिएको बताएका छन् ।

हमासले ४२ दिनमा यसरी रिहा गर्नेछ गजामा बन्धक बनाइएकाहरूलाई

सम्झौताअनुसार युद्धविरामको पहिलो ४२ दिनमा हमासले ३३ जना बन्धक रिहा गर्नेछ भने इसराइलले त्यहाँका जेलमा रहेका प्यालेस्टिनी नागरिकहरूलाई रिहा गर्नेछ।

युद्धविराम घोषणा भएको पहिलो दिन हमासले तीन जना बन्धक रिहा गर्नेछ । सुरूमा महिला र इसराइली सेनालाई हमासले बन्धकमुक्त गर्नेछ । हमासले बन्धकमुक्त गर्ने एक इसराइली नागरिकको बदलामा इसराइलले ३० प्यालेस्टिनी कैदी र एक महिला सैनिकको बदलामा ५० जना कैदी रिहा गर्नेछ ।

त्यसको एक सातापछि हमासले चार जना बन्धक रिहा गर्नेछ भने त्यसको बदलामा तोकिएअनुसारको कैदी इसराइलले रिहा गर्नेछ । त्यसपछि एक एक सातामा हमासले बन्धक रिहा गर्ने र इसराइलले प्यालेस्टिनी कैदी रिहा गर्ने सम्झौतामा उल्लेख छ ।

पहिलो चरणको युद्धविरामको ४२ दिनभित्रै अर्को सम्झौता गरिसक्नुपर्ने चुनौती मध्यस्तकर्ताहरूलाई रहनेछ । यदी ४२ दिनभित्रै दोस्रो चरणको युद्धविराम सम्झौता नभए इसराइलले फेरि गजामा आक्रमण गर्न सक्ने खतरा उत्पन्न भएको छ ।

पहिलो चरणको युद्धविरामको समयमा इसराइली सैनिक गजाबाट नफर्कने बरू त्यहाँका वस्तिबाट किनारतिर सर्ने भनिएको छ । त्यस अवधिमा त्यहाँबाट अन्यत्र भागेकाहरू गजामा फर्केर मानवीय सहायता लिन सक्नेछन् । ४२ दिनपछि हुने दोस्रो चरणको युद्धविराममा गजामा दिगो शान्ति घोषणा गर्ने र हमासले बाँकी भएका बन्धकहरू रिहा गर्ने सम्झौतामा उल्लेख छ । दोस्रो चरणको युद्धविरामपछि इसराइली सैनिक गाजा क्षेत्रबाट फर्कने भनिएको छ ।

तेस्रो चरणको युद्धविराममा गजामा मारिएका इसराइली बन्धक र इसराइलमा मारिएका प्यालेस्टिनी लडाकुको शव एक अर्कालाई फर्काइने छ । त्यसपछि गजामा पुनःनिर्माण योजना कार्यान्वयन गरी इसराइल र गजाको सीमाना खुला गरिने सम्झौतापत्रमा उल्लेख छ ।

हमासको बन्धकमा नेपालका विपीन जोशी पनि छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका ३ का हुन् विपिन । उनी सुदूरपश्चिम विश्वविद्यालयको कृषि तथा विज्ञान संकायमा अध्ययनकै क्रममा लर्न एन्ड अर्न कार्यक्रमअन्तर्गत अघिल्लो वर्षको भदौमा इसराइल गएका थिए ।

त्यतिबेला विश्वविद्यालयबाट ४९ जना विद्यार्थी इसराइल पुगेका थिए । विपिनलगायत १७ जना एउटै फार्ममा काम गर्थे । असोज २० गते शनिबार हमासको आक्रमणमा उनीहरूमध्ये १० मारिए ।

हमासले गोली बर्साउन थालेपछि विपिन साथीहरूसँग बंकरभित्र लुकेर बसेका थिए । विपिनले बंकरमा हमासले हानेको ग्रिनेड मान्छे नभएकातिर फ्याँकिदिएको भनेर नेपाल फर्किएकाहरूले बताएका थिए ।

पछि हमासले बंकरभित्रै पुगेर गोली चलाई विपिनलाई तानेर लगेको उनीहरूले बताएका छन् । त्यसयता मंसिर ३ गते इसराइली सैनिकले सामाजिक सञ्जाल प्लेटफर्म एक्स ट्वीटर मा भिडिओ सार्वजनिक गरेको थियो । त्यसमा दुई जना बन्धकलाई हमासका लडाकुले उपचार कक्षमा लैजाँदै गरेको दृश्य थियो ।

आइडिएफले ती दुईमध्ये एक नेपाली रहेको भनेको थियो । आइडिएफको दाबी सत्य भए तीमध्ये एकजना विपिन् रहेको आकलन गरिएको थियो ।

युद्धविराम भएपछि विपिन फर्केर आउने आश बढेको छ । यद्यपि पहिलो चरणको युद्धविराममा हमासले इसराइली बन्धकमात्रै रिहा गर्ने भनेकाले सो अवधिमा विपिन जोशी छुट्ने सम्भावना न्यून छ ।

दोस्रो चरणको युद्धविराममा उनी छुट्न सक्नेछन् । त्यसका लागि नेपालले आवश्यक पहल पनि गरिरहेको छ । युद्धविरामको सम्झौता नजिक पुग्दा परराष्ट्र मन्त्री आरजु राणाले युद्धविरामको मध्यस्तता गरिरहेका कतारी मन्त्रीसँग विपिन जोशीको रिहाइबारे कुराकानी गरीरहुन भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology