गोरखा, ५ माघ । गोरखा जिल्ला स्तरीय १२ औँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०८१ शनिवारदेखि सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति गोरखाको आयोजना तथा पालुङटार नगरपालिकाको सह–आयोजनामा पालुङटार नगरपालिकास्थित भवानी माध्यामिक विद्यालय माँझटारको खेलुकद मैदानमा प्रतियोगिता सुरु भएको हो ।
तीनदिनसम्म चल्ने प्रतियोगितामा जिल्ला भित्रका ११ वटै पालिकाको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगिताको पहिलो दिन छात्रछात्रातर्फको ३ हजार मिटर, २ सय मिटर ०० दौड प्रतियोगिता, छात्रछात्रातर्फ नै लङजम्प, भलिबल, कबड्डी, ४ सय मिटर दौडप्रतियोगिताको आयोजना भएको जनाइएको छ ।
गण्डकी प्रदेश सरकारका माननीय मुख्य मन्त्री सुरेन्द्र राज पाण्डे प्रमुख आतिथ्यता एवं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शान्तासिंह बस्नेतको अध्यक्षतामा प्रतियोगिताको समुद्घाटन गरिएको हो । उदघाटन कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख मोहन बहादुर थापा मगर, पालुङटार नगरपालिका नगर प्रमुख विवस चिन्तन, गोरखा नगरपालिका नगर प्रमुख कृष्ण बहादुर राना, बिभिन्न पालिकाका अध्यक्ष तथा उपाध्यक्ष, वडाध्यक्षलगायतको सहभागिता रहेको थियो ।