काठमाडौं, ४ माघ । विद्युत प्राधिकरणका हाकिम कुलमान घिसिङसंग पौठेजोरि खेलेर चर्चामा आएका ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्कामाथि मन्त्रालयमै आक्रमणको प्रयास भएको खुलेको छ।
गत शुक्रबार मन्त्री खड्कामाथि सिंहदरबारस्थित आफ्नै मन्त्रालयमा आक्रमणको प्रयास भएको खुलेको हो। मन्त्री खड्कामाथि मन्त्रालयमै हातपातको प्रयास भएको खबर भित्रभित्रै फैलिए पनि पुष्टि हुन सकेको थिएन ।
नेपाली कांग्रेसको बिहिवार बसेको पार्टी पदाधिकारीसहित सरकारमा सहभागी मन्त्रीसँगको बैठकमा उर्जा मन्त्री खड्काले आफूमाथि मन्त्रालयमै आक्रमणको प्रयास भएको बताएपछि यो घटना पुष्टि भएको हो ।
मन्त्रालयबाट बाहिरिने क्रममा उनीमाथि आक्रमणको प्रयास भएको बताइएको छ । मन्त्री खड्कालाई गोरखाको अजिरकोट गाउँपालिका(५, मुच्चोकका हरि पोखरेलले कार्यकक्षबाट बाहिरिँदै गर्दा हातपात गरेका थिए । मन्त्री खड्काले भने उक्त व्यक्ति मानसिक सन्तुलन ठिक नभएको दाबी गरेका छन् । प्रहरीले नियन्त्रणमा लिएर उक्त व्यक्तिलाई छाडि सकेको छ ।