काठमाडौं, २३ पुस । चीनको तिब्बतमा आज बिहान गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ९५ पुगेको छ । भूकम्पमा परी अन्य १३० जना घाइते भएका छन् ।
तिब्बतस्थित क्षेत्रीय विपद् राहत मुख्यालयलाई उद्धृत गर्दै समाचार संस्था साउथ चाइना मर्निङ पोस्टले भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९५ पुगेको उल्लेख गरेको छ ।
यसैबीच राष्ट्रपति सी जिनपिङले भूकम्पपछि जीवन जोगाउन र क्षतिलाई न्यून गर्न सक्दो उद्धार प्रयास गर्न निर्देशन दिदै घाइतेहरूको उपचारमा उच्च प्राथमिकता दिन निर्देशन दिएका छन् ।
उनले सम्भावित थप क्षति रोक्न, प्रभावित बासिन्दाहरूलाई उचित रूपमा पुनर्स्थापित गर्न र घटनापछिको कामलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न निर्देशन दिएको पनि समाचार उल्लेख गरिएको छ ।
समाचार एजेन्सी सिन्ह्वाका अनुसार भूकम्पको केन्द्रविन्दु २८।५ डिग्री उत्तर अक्षांश र ८७।४५ डिग्री पूर्व देशान्तरमा मापन गरिएको थियो । आज बिहान नेपाली समय अनुसार मंगलबार ६ बजेर ५० मिनेटमा चीनको सिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँमा केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको थियो ।
भूकम्पको धक्का नेपाल, भारत, बंगलादेश र भूटानमा समेत महसुस भएको थियो । नेपालको भूकम्प मापन केन्द्रले भने ७ म्याग्निच्युडको भूकम्प गएको रेकर्ड मापन गरेको छ ।
भूकम्पका कारण दिङ्गी काउन्टीको चाङ्गसुओ क्षेत्रका गाउँमा घरहरु भत्किएका छन् । चिनियाँ सेनाले भूकम्पबाट घाइतेहरूको उद्धार गरिरहेको छ जसमा ३०० जना उद्धारकर्ता, मेडिकल स्टाफ र २ वटा इमरजेन्सी रेन्पोन्स टीम तैनाथ गरिएको मर्निङ पोस्टले जनाएको छ ।
चीनको भूकम्प नेटवर्क केन्द्रका अनुसार आज भूकम्प गएको स्थानदेखि २०० किलोमिटर वरपरको क्षेत्रमा विगत पाँच वर्षको अवधिमा ३ म्याग्निच्युड माथिका २९ वटा भूकम्प गएको रेकर्ड छ । तर, आज बिहानको भूकम्प सबैभन्दा शक्तिशाली हो ।