काठमाडौं, १६ पुस । दक्षिण कोरियाका राष्ट्रपति यून सुक योलविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । दक्षिण कोरियाली अदालतले मंगलबार उनीविरूद्ध पक्राउ अनुमति जारी गरेको रोयटर्सले जनाएको छ ।
डिसेम्बर ३ मा सैन्य शासन लागु गरेपछि उनीविरूद्ध महाअभियोग लागेको छ। महाअभियोगको प्रस्ताव पारित भएसँगै उनी निलम्बित छन् ।
उच्चस्तरीय व्यक्तित्वहरू माथि छानबिन गर्न बनेको भ्रष्टाचार अनुसन्धान कार्यालयले पनि पश्चिमी सउल जिल्ला अदालतबाट पक्राउ अनुमति लिइएको पुष्टि गरेको छ । दक्षिण कोरियाको इतिहासमा कुनै राष्ट्रपतिविरूद्ध नै पक्राउ अनुमति लिएको यो पहिलो पटक हो ।
योन्हाप समाचार एजेन्सीले कार्यालयलाई उदृत गरेको समाचार अनुसार जनवरी ६ भित्र राष्ट्रपतिलाई पक्राउ गरी सउल डिटेन्सन सेन्टरमा राख्ने तयारी छ । युनलाई तीन पटकसम्म सोधपुछका लागि कार्यालयले बोलाएको थियो। तर उनी उपस्थित नभएको रोयटर्सले जनाएको छ। अदालतले यूनको कार्यालयमा सर्च गर्न पनि अनुमति दिएको छ ।
केही दिनअघि कोरियाका कार्यवाहक राष्ट्रपति एवं प्रधानमन्त्री हान डक सूलाई पनि महाअभियोग लगाएको हो । विपक्षी दलहरूले कार्यवाहक राष्ट्रपति सूले यूनविरूद्धको महाभियोग प्रक्रियालाई अगाडि नबढाएको आरोप लगाउँदै उनीविरूद्ध पनि महाभियोग प्रस्ताव दर्ता गरेका थिए । गत शुक्रबार भएको मतदानमा १९२ जनाले महाभियोग प्रस्तावको पक्षमा मतदान गरेपछि पारित भएको थियो ।