नेपालगन्ज, ३ पुस । मधेशी र मुस्लिम समुदायको बाहुल्यता रहेको बाँकेको जानकी गाउँपालिकामा ६ देखि ५९ महिनाका ५९ जना बालबालिकामा कुपोषणको समस्या देखिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
जानकी गाउँपालिकाको स्वास्थ्य शाखाका फोकल पर्सन तामलाल बलबासेले चेतनाको अभाव र गरिबीका कारण पालिकामा अझैपनि ५९ जना बालबालिका कुपोषित रहेको पाईएको बताउनुभयो ।
उहाँले गत आर्थिक वर्षमा ६ देखि ५९ महिनासम्मका कुपोषित बालबालिकाको संख्या ७९ रहेपनि पोषण उपचार केन्द्रमा राखेर बालबालिकाको उपचार गरेपछि हाल सो संख्या घटेर ५९ पुगेको बताउनुभयो । जानकी गाउँपालिकाका ६ देखि ५९ महिनासम्मको उमेरका तीन हजार ९७३ जना बाबालिका मध्ये ५९ जनामा कुपोषणको समस्या देखिएपछि सो समस्या समाधानका लागि पालिकामा पोषण परियोजना संचालन गरिएको स्वास्थ्य शाखा प्रमुख बेलबासेले बताउनुभयो । उहाँका अनुसार सो परियोजना केयर नेपाल र आइडी नेपालको सहयोगमा भेरी वातावरणीय विशिष्टता समूह बी–ग्रुपले संचालन गरेको छ ।
सोही परियोजना अन्तर्गत पालिकामा रहेका बालबालिकाको पोषण लेखाजोखा तथा व्यवस्थापन सम्बन्धि एक कार्यक्रम नेपालगन्जमा सम्पन्न गरिएको छ । सो कार्यक्रमको अध्यक्षता गर्दै जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले अशिक्षा, गरिबी र चेतनाको अभावले गर्दा पालिकामा पोषण सम्बन्धि समस्या धेरै देखिएको जनाउँदै यस्ता परियोजनाबाट सो समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले परियोजनालाई सफल पार्न पालिकाले हरेक प्रकारको सहयोग, समन्वय र सहकार्य गर्ने प्रतिवद्धता पनि गर्नुभयो ।
सो कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष रामप्यारी यादव, स्वास्थ्य शाखाका कर्मचारीहरु, पालिका भित्रका सबै स्वास्थ्य चौकीका इन्चार्जहरु, सबै वडाका वडा अध्यक्षहरु लगायत अन्य सरोकारवालाको सहभागिता रहेको थियो ।
कार्यक्रममा जानकी गाउँपालिका स्वास्थ्य शाखाका फोकल पर्सन बलबासेले गाउँपालिकाको पोषण सम्बन्धि लेखाजोखा प्रस्तुत गर्नु भयो भने परियोजनाका स्वास्थ्य अधिकृत सुजाता आचार्यले परियोजनाका मुख्य कार्यक्रमहरुबारे जानकारी गराउँदै त्यसलाई सफल पार्न स्वास्थ्य संस्थाहरु र गाउँपालिकाको भूमिकाका बारेमा जानकारी गराउनुभयो ।
बाँके जिल्लामा रहेका ६ देखि ५९ महिनाका बालबालिकालाई पोषण सम्बन्धि समस्याबाट जोगाउनका लागि बिग्रुपले जिल्लाका जानकी, खजुरा, बैजनाथ, राप्ती सोनारी र डुडुवा गरेर पाँच वटा पालिकामा पोषण परियोजना सञ्चालन गरेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।