Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

७० अर्ब लागतमा ३४१ मेगावाटको बूढीगण्डकी जलविद्युत् परियोजना बन्दै


1.3K
Shares

७० अर्ब लागतमा ३४१ मेगावाटको बूढीगण्डकी जलविद्युत् परियोजना बन्दै

काठमाडौँ, ७ मंसिर । गोरखामा ७० अर्ब रुपैयाँ लगानीमा ३४१ मेगावाटको बूढीगण्डकी जलविद्युत् परियोजना निर्माण हुने भएको छ । साहस ऊर्जाको मुख्य लगानीमा टाइम्स इनर्जीद्वारा प्रवर्द्धित बूढीगण्डकी अर्धजलाशययुक्त जलविद्युत् परियोजना रहेको जनाइएको हो ।

परियोजनाका लागि बैंकबाट ५२ अर्ब ५० करोड रुपैयाँ कर्जा लिइएको छ । यो परियोजनामा साहसको १७ अर्ब ५० करोड रुपैयाँ अर्थात् ५१ प्रतिशत लगानी हुनेछ ।

बूढीगण्डकी जलविद्युत् परियोजनाको वार्षिक क्षमता १८६७।७७ गिगावाट हुनेछ । यसैगरी मुख्य सुक्खा समयमा ३२०।३० गिगावाट, सामान्य सुक्खा समयमा २४३।४३ गिगावाट र वर्षा समयमा १३०४।०४ गिगावाट उत्पादन क्षमता हुने जनाइएको छ । परियोजनाको प्रतिमेगावाट खर्च २० करोड ५३ लाख रुपैयाँ रहेको बताइएको छ । परियोजना निर्माणपछि ३० वर्षका लागि विद्युत् खरिदबिक्री दर सुक्खायाममा १०।५५ प्रतियुनिट, सामान्य सुक्खायाममा ८।४० प्रतियुनिट र वर्षायाममा ४।८० प्रतियुनिट पर्नेछ ।

बूढीगण्डकीको बाँध क्षेत्र चुमनुव्री गाउँपालिकाको वडा नम्बर ३ र विद्युत् गृह धार्चे गाउँपालिकाको ३ मा पर्ने मुख्य लगानीकर्ता कम्पनी साहसले जनाएको छ । लगानीकर्ताले परियोजना सम्पन्न गरी ०८७ सालको पुस १५ सम्म विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । परियोजनाको विद्युत् खरिदबिक्री सम्झौता ९पीपीए० सकिइसकेको, वातावरणीय प्रभाव मूल्यांकन स्वीकृति र वित्तीय व्यवस्थापन अन्तिम चरणमा रहेको जनाइएको छ ।

‘यस परियोजनाका मुख्य भौतिक संरचना भूमिगत रहेका कारण भूकम्प, बाढीपहिरोजस्ता प्राकृतिक प्रकोपबाट हुन सक्ने जोखिम न्यून छ,’ टाइम्स इनर्जी व्यवस्थापनले भनेको छ, ‘यस परियोजनाका लागि आवश्यक सडकको ट्र्याक खुलिसकेको छ ।’

यस कम्पनीको मुख्य प्रवर्द्धकबाट यस परियोजनाभन्दा अघि पाँच मेगावाट क्षमताको रुरु जलविद्युत् परियोजना र ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोशी जलविद्युत् परियोजना सम्पन्न भई राष्ट्रिय प्रसारण लाइनमा जोडिसकेको बताइएको छ । ‘विद्युत् परियोजना निर्माणमा अनुभवी र सक्षम सञ्चालक समितिका साथै दक्ष र योग्य व्यवस्थापक समिति भएकाले बूढीगण्डकी परियोजनाको प्रतिफल पनि उच्च रहने आकलन गरिएको छ,’ टाइम्स इनर्जीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology