काठमाडौ, ११ आर्तिक । काठमाडौंमा जारी साफ महिला च्याम्पियन्सिपमा आज सेमिफाइनल खेलहरू हुँदैछन् । पहिलो सेमिफाइनल साविक विजेता बङ्गलादेश र भुटानबीच दिउँसो साढे १ बजे सुरु हुनेछ । दोस्रो सेमिफाइनलमा घरेलु टोली नेपालले सर्वाधिक ५ पटकको च्याम्पियन भारतको सामना गर्नेछ ।
यो खेल साढे ६ बजे सुरु हुनेछ । समूह चरणमा दिनको दोस्रो खेल साढे ५ बजे भए पनि नकआउट चरणको खेल अतिरिक्त समयमा पुग्न सक्ने कारणले दोस्रो सेमिफाइनलको समय एक घण्टा पछि सारिएको एन्फाले जनाएको छ ।
सेमिफाइनलसम्म आइपुग्दा अहिलेसम्म भारत बाहेक बाँकी तीन टिम अपराजित छन् । नेपाल भुटान र बङ्गलादेश समूह चरणमा अपराजित रहे । नेपाल, भारत र बङ्गलादेश अहिलेसम्म भएका सबै सातवटै संस्करणमा सेमिफाइनल पुगेका छन् । भुटान भने सेमिफाइनल पुगेको यो दोस्रो पटक हो ।