इजेन्सी, ११ कार्तिक । करिब एक महिनाअघि इरानले गरेको आक्रमणको जवाफमा इजरायलले शनिबार बिहान इरानको सैन्य इलाकामा हवाई आक्रमण गरेसँगै पश्चिम एसियामा तनाव चर्केको छ । इजरायली सुरक्षा फौज (आईडीएफ) ले इरानका सैन्य अखडाहरूमा ‘सटीक आक्रमण’ गरेको जनाएको छ ।
उक्त आक्रमण आफूविरुद्ध इरान र उसका साझेदारहरूले बारम्बार गरेका हमलाको जवाफ भएको इजरायलको दाबी छ । इरानले लेबनानस्थित इरान समर्थित समूह हेजबुल्लाहलक्षित आक्रमण गरेसँगै गत अक्टोबर १ मा इजरायलमाथि १ सय ८० वटा बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो ।
त्यसको जवाफमा शनिबार आक्रमण गरेको इजरायलको भनाइ छ ।आईडीएफ प्रवक्ता डानियल हगारीले तत्कालका लागि आफ्नो जवाफी कारबाही पूरा भएको र आक्रमणमा प्रयोग भएका विमानहरू सुरक्षित रूपमा फर्किएको जनाएको छ । इजरायलसामु आफ्नो प्रतिरक्षा गर्ने अधिकार र दायित्व भएको हगारीको भनाइ छ ।