गोरखा, ९ कार्तिक । गोरखाको गण्डकी गाउँपालिकामा सञ्चालित दोस्रो अध्यक्ष कप छात्रछात्रा फुटवल प्रतियोगिता सम्पन्न भएको छ । दुई दिनसम्म सञ्चालित छात्रातर्फको प्रतियोगितामा वडा नम्बर ६ स्थित श्री भद्रकाली माध्यामिक विद्यालयले उपाधी जितेको गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाले जनाएको छ ।
प्रतियोगिताको फाइनल खेलमा वडा नम्बर ५ स्थित श्री रत्नेश्वर माध्यामिक विद्यालयलाई पराजित गर्दै भ्रदकालीले उपाधि हात पार्न सफल भएको हो । त्यस्तै प्रतियोगितामा वडा नम्बर ७ स्थित श्री ज्ञानमार्ग माध्यामिक विद्यालयले तृतीय स्थान हासिल गरेको छ । त्यस्तै छात्रतर्फ वडा नम्बर १ स्थित विजयाभवानी माध्यामिक विद्यालयले उपाधि जितेको छ । प्रतियोगिताको फाइनल खेलमा पराजित भएसंग वडा नम्बर ७ स्थित ज्ञानमार्ग माविले दोस्रो स्थानमा चित्त बुझाउन बाध्य भएको छ ।
छात्रतर्फको प्रतियोगितामा वडा नम्बर २ स्थित ताङ्लिचोक माध्यामिक विद्यालयले तेस्रो स्थान हासिल गरेको छ । प्रतियोगितामा छात्रातर्फ श्री भद्रकाली माध्यामिक विद्यालयकाकी अनिशा गुरुङ उत्कृष्ठ खेलाडी, सोही विद्यालयकी अस्मिता चोपाङ उत्कृष्ट गोल रक्षक बन्नुभयो । त्यस्तै छात्रतर्फ भवानी माध्यामिक विद्यालयका दिवस वि.क उत्कृष्ठ खेलाडी र भावनी माध्यामिक विद्यालयका मिलन रानामगर उत्कृष्ठ गोल रक्षक बन्नु भएको छ । प्रतियोगितामा छात्र तथा छात्रातर्फ पहिलो हुन सफल टिमलाई नगद रु ३० हजारसहित मेडल र प्रमाणपत्र, दोस्रो हुन सफल टिमलाई रु १५ हजारसहित मेडल र प्रमाणपत्र तथा तेस्रो हुन सफल टिमलाई रु ७ हजारसहित मेडल र प्रमाण पत्र वितरण गरिएको शाखाले जनाएको छ ।