Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

दसैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा गरिँदै


938
Shares

दसैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा गरिँदै

गोरखा, २० असोज । दसैंको तेस्रो दिन आज नवदुर्गाका ९ वटा रूपमध्ये ‘चन्द्रघण्टा’ नाम गरेकी दुर्गा भवानीको पूजापाठ तथा दर्शन गरेर दसैं मनाइँदै छ ।

यस दिन पनि पहिलो दिनजस्तै नित्य पूजा गरेर विशेष रूपमा चन्द्रघण्टाको पूजाआराधना गरी चण्डीपाठ, कुमारी पूजा तथा हवन गर्नुपर्ने शास्त्रमा उल्लेख छ । उहाँलाई खुसी पारी कार्यसिद्ध गर्न ‘ॐ ऐं ह्रीं क्लीं चन्द्रघण्टायै नमः’ मन्त्र १०८ पटक जप्नुपर्ने मान्यता रहेको छ ।

उहाँको मस्तकमा घण्टीको आकार जस्तै अर्धचन्द्र भएकाले चन्द्रघण्टा नाम रहन गएको हो । उहाँलाई सुनजस्तो पहेंलो शरीर र १० वटा हात भएकी देवी भनेर देवीभागवतमा उल्लेख छ ।

हातमा त्रिशूल, गदा, तरबार, कमण्डलु, धनुबाण, कमल पुष्प, अक्षमाला धारण गरी वरद तथा अभय मुद्रा प्रदर्शित गरेकी देवी चन्द्रघण्टाको वाहन बाघ मानिएको छ । उनको घन्टको ध्वनिले भूतप्रेत भाग्ने र आसुरीभाव भएका शत्रुहरू परास्त होऊन् भन्ने कामनाले उनको पूजा गर्नुपर्ने धार्मिक विश्वास रहेको छ ।

चन्द्रघण्टाको उपासना गर्नाले सिंह या बाघको जस्तै पराक्रम तथा निडर हुनुका साथै सद्गुण, वीरता तथा विनम्रताको विकास भई शरीरमा कान्ति र गुणको वृद्धि हुने बताइएको छ ।

चन्द्रघण्टाको आराधना गर्नाले सबै प्रकारका दुःख, कष्ट नाश हुने र सबै प्रकारका बाधाव्यवधान हट्ने जनविश्वास छ । उहाँलाई सबै प्रकारका फलफूल, पकवान एवं पुष्पहरू प्रिय छन् ।

चन्द्रघण्टालाई विशेषगरी दूधका परिकार चढाइन्छ । उनलाई वैज्ञानिक दृष्टिले सम्पूर्ण ध्वनि शक्तिको स्वरूप मानिन्छ । यस दिन ४ वर्षकी कन्यालाई ‘कल्याणी’ देवीको रूपमा पूजा गरिन्छ भने विशेष रूपमा चन्द्रघण्टालाई ऐना, सिन्दुर, गाजललगायत सामग्री चढाइन्छ ।

चन्द्रघण्टा देवीको पूजासँगै यस दिन पनि विभिन्न शक्ति पीठको दर्शन गर्ने चलन रहेको छ । विशेष गरी नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवती, दक्षिणकाली, भद्रकाली, दन्तकाली, सिद्धकाली, गुह्येश्वरी, विन्ध्यवासिनी, छिन्ताङदेवी, पाथीभरा, मनकामना, वागीश्वरीलगायत देशभरका शक्तिपीठमा पूजाआराधना एवं दर्शन गर्न भक्तजनको भीड लाग्ने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology