गोरखा, १३ असोज । पृथ्वी राजमार्गमा पर्ने धादिङको झ्याप्लेखोलामा पहिरोले गर्दा काठमाडौं छिर्ने र बाहिरिने सवारी साधनलाई वैकल्पिक मार्गबाट ल्याइएको छ ।
बिरामी बोकेका एम्बुलेन्सलगायत अत्यावश्यक सेवाका सवारी साधनलाई नागढुङ्गा सुरूङमार्गबाट काठमाडौँ पठाईएको हो ।
काठमाडौँबाट बाहिरिएका सवारी साधनलाई पनि पिपलबोटलगायत ठाउँबाट वैकल्पिक मार्गबाट पठाइएको छ । धादिङको सिस्नेखोलादेखि काठमाडौँको बलम्बुस्थित सुरूङमार्गबाट एम्बुलेन्सलगायत सवारी साधन पठाईएको हो । सवारी जाम हुँदा अलपत्र परेका बिरामी र उद्धार गरिएका घाइतेलाई सुरूङमार्गबाट काठमाडौं पठाइएको सडक विभागका सूचना अधिकारी अमितकुमार शर्माले जानकारी दिनुभयो ।
नागढुङ्गाको पश्चिम पोर्टतिर रोकिएका यात्रुवाहक तथा मालवाहक सवारी साधनलाई नागढुंगा सुरूङमार्ग हुँदै काठमाडौँ प्रवेश गराइएको हो ।
सडकमा रहेका सवारी साधनलाई निर्माणाधीन सुरूङमार्गको सुरूङ प्रयोग गरी काठमाडौं भित्राउन सहजीकरण गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता सुशीलबाबु ढकालले जानकारी दिनुभयो ।