गोरखा, १३ असोज । बाढी, पहिरो र डुबानका कारण विद्यालयमा क्षति पुगेको भन्दै सरकारले आजदेखि ३ दिन देशभरका विद्यालय बन्द गर्न अनुरोध गरेको छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका स्कुल र विश्वविद्यालयहरू तीन दिन बन्द गर्न अनुरोध गरेको हो । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा शैक्षिक संस्थाका भवनमा आकस्मिक व्यवस्थापनसमेत गर्नुपर्ने भएकाले देशभरका सबै स्कुल र विश्वविद्यालय आजदेखि तीन दिन बन्द गर्न स्थानीय तहलाई अनुरोध गरिएको छ ।
देशभर विश्वविद्यालय र स्कुलका भवनमा क्षति पुगेको, विद्यार्थी र अभिभावक बाढी पहिरोको चपेटामा परेको, यातायात अवरूद्ध भएको र दैनिक जीवनयापनमा कठिनाइ भएको जानकारी मन्त्रालयमा प्राप्त भइरहेकाले यस्तो निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।