काठमाडौं, १० असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अन्तर्राष्ट्रिय क्षेत्रको प्रचण्ड प्रधानमन्त्रीभन्दा माथि हो भन्ने मनोविज्ञान रहेको बताउनुभएको छ ।
बिहीबार पार्टीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २३ औं सम्मेलन उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । ‘मलाई प्रधानमन्त्रीबाट त कांग्रेस र एमालेले भ्रष्टाचारी बचाउनका लागि संख्याको बलमा हटाइसकेका थिए । तर बेलायतका प्रधानमन्त्रीलेमलाई चिठी पठाउनुभयो प्रधानमन्त्रीकै नाममा । बेलायतको राजदूतले आएर चिठी दिनुभयो । मैले भनेँ–म प्रधानमन्त्री छैन। मलाई किन चिठी दिनुपर्यो। उहाँले भन्नुभयो–तपाईं प्रधानमन्त्री नभए पनि प्रधानमन्त्रीभन्दा माथि हो । अन्तर्राष्ट्रिय क्षेत्रमा यो खालको मनोविज्ञान बनेकै छ ।’ उहाँले क्रान्ति, आन्दोलनका निम्ति सम्पत्ति भएको बताउनुभयो ।
‘यो सम्पत्तिलाई सदुपयोग गर्यौं भने प्रतिक्रियावादी षड्यन्त्रलाई त परास्त गर्छौं,’ उहाँले भन्नुभयो । अहिले सरकार बनाउने चाहना नरहेको उहाँले बताउनुभयो । जनतातिर फर्काइदिएकाले कांग्रेस–एमालेलाई धन्यवाद दिनुपर्ने उहाँले बताउनुभयो। ‘हामीले त कांग्रेस(एमालेलाई मिलेर बस भनेका छौं । तर उनीहरू मिलिरहेका छैनन् । मलाई लाग्छ, कांग्रेस–एमालेको अपवित्र, अप्राकृतिक गठबन्धन केही समयभित्रै कुहिएर झर्छ । त्योबेला के गर्ने भन्ने हामीले सोच्नुपर्नेछ ।’