काठमाडौं, ९ असोज । पेट्रोलिय पदार्थको मूल्य पछिल्लो दुई वर्षदेखि लगातार घट्दो क्रममा छ । २०७९ असार ६ गते काठमाडौं उपत्यकामा प्रतिलिटर डिजेलको मूल्य १९२ रूपैयाँ तोकिएको थियो। पेट्रोलको १९९ रूपैयाँ तोकिएको थियो ।
त्यो बेला लगातार अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि नेपालमा पनि बढेको थियो। तर, धेरै विवाद भएपछि सरकारले कर समायोजन गरेर मूल्य घटाउन सुरू गरेको थियो। २०७९ असार १२ गते पेट्रोलको मूल्य प्रतिलिटर २० रूपैयाँ र डिजेलको मूल्य २९ रूपैयाँले घटाइएको थियो ।
त्यसपछि भने अन्तर्राष्ट्रिय बजारमा पनि पेट्रोलियम पदार्थको मूल्य क्रमशः घट्दै आयो र नेपालमा पनि घट्दो क्रममा छ । २०७९ असार ६ गतेको तुलनामा अहिले पेट्रोलको मूल्य प्रतिलिटर ४० रूपैयाँले कम अर्थात् १५९ रूपैयाँ लिटर छ। डिजेलको मूल्य ४६ रूपैयाँ कम अर्थात् १४६ रूपैयाँ लिटर छ। दुई वर्षको अन्तरालमा डिजेल र पेट्रोलको मूल्य २४ प्रतिशतसम्मले घटेको छ ।
मूल्य यति धेरै गिरावट आउँदा पेट्रोलियमा पदार्थको खपत पनि घट्दो छ। यो वर्ष पनि पेट्रोलियम पदार्थ ९विशेषगरी डिजेल०को खपत घट्दो क्रममा देखिएको छ। नेपाल आयल निगमले चालु आर्थिक वर्षको साउन र भदौ महिनामा १३ अर्ब ६४ करोड रूपैयाँको डिजेलको आयात गरेको छ ।
यो गत आर्थिक वर्षको साउन र भदौ महिनामा भएको आयातभन्दा १३।३५ प्रतिशतले कम हो । मूल्यको आधारमा मात्रै नभइ परिमाणात्मक आधारमा पनि ४ प्रतिशतले डिजेलको आयात घटेको छ।
पेट्रोलको आयात पनि घट्दो छ। गत आर्थिक वर्षको दुई महिनामा पेट्रोलको आयात ११ अर्ब ३० करोड रूपैयाँ बराबरको भएकोमा चालु वर्षको दुई महिनामा ११ अर्ब ६ करोड रूपैयाँको मात्रै भएको छ । यो वर्ष ग्यासको आयात भने उल्लेख्य बढेको छ ।
अघिल्लो वर्ष दुई महिनामा सात अर्ब ३२ करोड रूपैयाँको ग्यासको आयात भएकोमा अहिले नौ अर्ब ४२ करोड रूपैयाँको आयात भएको छ। मूल्यको आधारमा ग्यासको आयात २८ प्रतिशतले बढे पनि परिमाणात्मक रूपमा गत वर्षको बराबरको आयात छ। हवाई इन्धन लगायतका अन्य पेट्रोलियम पदार्थको आयात पनि घट्दो छ । डिजेल, पेट्रोल र ग्यासको आयात पछिल्लो दुई आर्थिक वर्षदेखि नै घट्दो छ ।