Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

पत्रकार महासंघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा


1.8K
Shares

पत्रकार महासंघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा

काठमाडौं, ४ असोज । नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले पदबाट राजीनामा दिनुभएको छ । यसअघिका अध्यक्ष विपुल पोख्रेलले पदबाट राजीनामा दिँदै विष्टलाई कार्यवाहक तोकेका थिए ।

कार्यवाहक अध्यक्ष विष्टले यही असोज १२ गते महासंघको चुनाव गर्ने गरी मिति तोकेका थिए । असोज ४ गतेका लागि उम्मेदवारको मनोनयन दर्ताको कार्यतालिका थियो । तर उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम स्थगित गरिएको थियो । विष्टले उपाध्यक्ष बाला अधिकारी र महासचिव रोशन पुरीलाई बोधार्थ दिँदै राजीनामा पत्र शुक्रबार महासंघको केन्द्रीय कार्यालयमा पठाएका हुन् ।

‘नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा सम्पन्न भएको ६ महिनासम्म पनि नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुन नसकेको विधितै छ। सदस्यता शुद्धीकरणमा देखिएको जटिलताबाट निर्वाचन सम्पन्न हुन नसकेको पृष्ठभूमिमा मैले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेको हुँ,’ राजीनामा पत्रमा उहाँले भन्नुभएको छ, ‘महासंघको विधानको पालना हुन नसक्दा नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, नागरिकको अधिकार र लोकतन्त्रको पहरेदार रुपमा झण्डै ७० वर्षदेखि खडा मुलुकुको अग्रणी संस्थाको यो अवस्था सृजना भएको हो भन्ने कुरा प्रष्ट छ। पछिल्लो परिघटनामा विभिन्न राजनीतिक पार्टीका भातृ संस्थाहरुले महासंघलाई आफ्नो राजनीतिक र व्यक्तिगत स्वार्थपूर्ति गर्ने मैदान बनाउँदा निर्वाचन प्रक्रिया अघि बढ्न नसकेको सबैका सामु छर्लङ्ग छ।’

राजनीतिक दल आवद्ध पत्रकारका संगठनले महासंघको विधि विधान र संरचनालाई समेत लत्याएर पत्रकारितासँग साइनो नभएका करिब साढे ४ सय व्यक्ति सदस्यका रुपमा थप्न बाध्य पारेको उहाँले उल्लेख गर्नुभएको छ ।

‘विधानअनुसार महासंघको सदस्यताको फारम नभरेका, शुल्क नबुझाएका, पत्रकारिता क्षेत्रमा रहेको प्रमाण पेश नगरेका, जिल्ला र प्रदेश समितिबाट सिफारिस नभएका करिब साढे ४ सय व्यक्तिका विषयमा जिल्ला अध्यक्षहरुले प्रश्न उठाएपछि संगठनहरुले त्यसको उत्तर दिन र जिम्मेवारी लिन नसक्दा यहि असोज १२ गतेका लागि तोकिएको निर्वाचन नहुने निश्चित भएको हो,’ उहाँले भन्नुभएको छ, ‘क्रियाशिल पत्रकारले सदस्यता लिन र जोगाउन संघर्ष गर्नु पर्ने तर पत्रकारिता क्षेत्रले नै नचिनेका व्यक्तिलाई घरमै सदस्यता पुर्‍याउने गलत अभ्यास हुर्किदै जानु लज्जाको विषय हो। संगठनहरुको दवावमा त्यस्ता व्यक्तिलाई सदस्य स्वीकार गर्दै जानु महासंघको गम्भिर झुल भएको स्वीकार गर्नु पर्दछ।’

पत्रकार महासंघलाई विगतदेखि निरन्तर प्रहार गरेर कमजोर बनाई आफ्नो स्वार्थ पूरा गर्न पल्केका तत्वहरूले पनि महासंघको निर्वाचनलाई अनिश्चित बनाउँन निरन्तर खेलिरहेको सबैले बुझेकै तथ्य रहेको उहाँले बताउनुभयो ।

‘सहजै निर्वाचन हुने परिस्थितीमा पनि निर्वाचन भाँड्न दिएको दवाव र पठाइएका म्यासेज त्यसैका उदाहरण हुन्। पछिल्लो पटक विकसित भएको मुलुकको राजनीतिक सत्तासमिकरणको शिकार समेत पत्रकार महासंघ बन्न पुग्यो । दलगत रुपमा अघि सारिएका प्रस्तावित उम्मेदवारको जित–हारलाई दलहरुले आफ्नो प्रतिष्ठाको विषय बनाउनुले थप जटिलता उत्पन्न गराएको छ । सानाठूला जस्ता विषयमा पनि महासंघको केन्द्रीय कार्यालयदेखि प्रदेश र जिल्ला शाखाहरुमा तालाबन्दी गर्ने प्रवृति फेशनकै रुपमा अघि बढ्यो। अब इतिहासकै कठिन मोडमा पुगेको पत्रकार महासंघको गिरेको साख फिर्ता ल्याउन लामो समय र परिश्रम लाग्ने निश्चत छ,’ उहाँले भन्नुभयो ।
उहाँले व्यक्तिगत र पदाधिकारीको हैसियतले सदस्यताको छिनाझप्टीमा संलग्न नभए पनि २०८१ असोज १२ गते तोकिएको निर्वाचन हुन नसकेकोसहित महासंघबाट भएका सबै कमजोरीहरूको नैतिक जिम्मेवारी लिँदै कार्यवाहक अध्यक्षबाट राजीनामा दिएको उनले उल्लेख गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology