Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

चाडबाडका बेला बढ्ने सुनचाँदीको कारोबार घट्दै


1.8K
Shares

चाडबाडका बेला बढ्ने सुनचाँदीको कारोबार घट्दै

काठमाडौँ,३ असोज । चाडबाडका बेला बढ्ने सुनचाँदीका गहनाको कारोबार पछिल्लो समय घट्न थालेको छ । गएको आर्थिक वर्षमा करिब २६ अर्ब रुपैयाँको सुन आयात भएको थियो ।

यो त्यसअघिको आर्थिक वर्षको तुलनामा ४० प्रतिशतले कम रहेको भन्सार विभागले जनाएको छ । वैध रुपमा सुनको आयात घटे पनि, व्यवसायीले भने अवैधानिक रुपमा सुन भित्रिन नछोडेकाले सुन बजार प्रत्यक्ष प्रभावित भएको दाबी गरेका छन् ।

कोरोना महामारी अघिसम्म चाडपर्व सुरु नहुँदै सुन पसलमा भिडभाड हुने गरे पनि अहिले भने विवाहको महिना र तिजको बेलाबाहेक सुनको कारोबार खासै नभएको व्यवसायीहरू बताउँछन् ।

औसतमा दैनिक एकसय भन्दाबढी ग्राहक पुग्ने नक्सालको काठमाडौँ ज्वेलरीमा अचेल ३०÷४० जना मात्रै ग्राहक हुनेगरेको ज्वेलरीको अर्डर शाखाका प्रमुख इला श्रेष्ठले बताउनुभयो । सामान्य अवस्थामा दैनिक ३० देखि ४० किलो सुनको खपत हुने नेपालको बजारमा अहिले भने मुस्किलले १५ किलो खपत हुने गरेको छ । जुन ३० अर्ब रुपैयाँ बराबर हुने व्यवसायीहरू बताउँछन् ।

गत आर्थिक वर्षमा मात्रै राष्ट्र बैङ्क मार्फत हुने सुन आयात ४० प्रतिशतले घटेको थियो । तर, अवैध तरिकाले नेपालमा सुन भित्रिने क्रम भने नघटेको सुनचाँदी व्यवसायी महाँसङ्घका अध्यक्ष अर्जुन रसाइलीले दाबी गर्नुभयो । नेपालमा सुन भित्रिने प्रमुख नाकाका रुपमा रहेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सार कार्यालयकाअनुसार वैदेशिक रोजगारीमा गएका श्रमिकमार्फत दैनिक सरदर २ किलोका दरले वार्षिक ७२० किलो अर्थात ८ अर्ब रुपैयाँको सुन वैधानिक तवरले भित्रिने गरेको छ ।

भन्सार छली गरेर भित्रिन लागेको झण्डै ५३ किलो सुन वार्षिक रुपमा जफत हुने गरेको कार्यालयका निर्देशक मनिराम पौडेलले बताउनुभयो । नेपाल प्रहरीकाअनुसार गत तीन वर्षमा मात्रै अवैध तरिकाले भित्रिएको करिब ३ सय ५० किलो सुन बरामद गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology