काठमाडौं, २६ भदौ । नेपाल राष्ट्र बैंकले पहिलो पटक नयाँ नोटको सट्टा सुकिला नोट साट्ने भएको छ । असोज १३ गतेदेखि राष्ट्र बैंकले दसैंको लागि सुकिला नोट साट्ने भएको हो । राष्ट्र बैंकको केन्द्रीय कार्यालय, प्रदेशमा रहेका कार्यालय र बैंकहरूबाट सुकिला नोट साट्न सकिने भएको छ ।
यसअघि झै १८ हजार पाँच सय रूपैयाँसम्म सुकिला नोट साट्न पाइने भएको हो । ५, १०, २०, ५० र एक सय दरको एकरएक बण्डल नोट साट्न सकिने भएको हो । ०१३ सालमा नेपाल राष्ट्र बैंकको स्थापना हुनु अघिसम्म पनि नेपालमा भारतीय मुद्राको दबदबा थियो ।
नेपाली मुद्राको प्रचलन बढाउन राष्ट्र बैंकले ०१५र१६ सालबाट दसैंमै नयाँ नोट निष्कासन र वितरण गर्न थाल्यो । दसैंमा अर्थतन्त्र सहरबाट गाँउतिर सर्ने भएकोले नयाँ नोट निष्कासन र वितरणको चलन सुरू गरिएको थियो ।
दसैंमा आम उपभोगमा पनि वृद्धि हुने भएकोले त्यति खेर यस्तो सुरूवातले मुलुकभित्र नेपाली मुद्राको चलनचल्ती बढाउन ठूलो योगदान गरेको थियो । अहिले एउटा नोटका लागि करिब एक रूपैयाँ ४० पैसादेखि चार रूपैयाँ ६८ पैसा लागत लाग्ने गरेको छ ।
नोटहरूको दुरुपयोगकै कारण चाँडै पुरानो हुने र नयाँ नोट छाप्न पर्ने भएकोले मुलुकलाई वार्षिक सरदर ८४ करोड लागत पर्ने गरेको छ । त्यसैले पनि यसपटक राष्ट्र बैंकले नयाँ नोट नसाट्ने र प्रणालीमा रहेकै सुकिला नोट वितरण गर्ने भएको हो ।