गोरखा, २५ भदौ : नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश समितिका इन्चार्ज दिनानाथ शर्माले बर्तमान काग्रेस एमालेको गठबन्धन सरकार जनताप्रति जवाफदेही र जिम्मेवार नभएको बताउनु भएको छ । नेकपा माओवादी केन्द्र गोरखा जिल्ला समन्वय समितिको जिल्ला पार्टी कार्यालयमा मगंलबार आयोजित १३ औं बिस्तारित बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले भ्रष्टाचारमा मुछिएका र अनियमिततामा परेकाहरुलाई जोगाउनका लागि मात्र प्रचण्ड नेतृत्वको सरकारलाई हटाएर काग्रेस एमालेले गठबन्धन गरेको वताउनुभयो ।
इन्चार्ज शर्माले भ्रष्टाचार र सुशासनमा प्रचण्ड नेतृत्वको सरकारेको गरेको कामबाट काग्रेस र एमाले अत्तालिएपछि दुई ठूला दल मिलेर सरकार बनाएको उल्लेख गर्नुभयो । अहिलेको सरकार धेरै समयमा नटिक्ने भन्दै उहाँले स्वार्थसंग जोडिएको सरकार आफैले ढल्ने दावी समेत गर्नुभयो । बैठकमा माओवादी केन्द्रका बरिष्ठ केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका सहइन्चार्ज हरिराज अधिकारीले पार्टीले समाजिक न्याय सहितको सम्बृद्धिमा जोड दिदै आएको बताउनुभयो ।
सत्तामा रहनु र सत्ताबाट बाहिरिनु माओवादीका लागि कुनै तात्विक फरक नरहेको भन्दै सत्ता वाहिरै रहेर पनि जनताको पक्ष निरन्तर खवरदारी गरिरहनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालमा माओवादीको नेतृत्वमा मात्र नेपाली मौलिकतासहितको समाजावादी क्रान्ति सम्भव हुने बताउनुभयो । बैठकमा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं गोरखा जिल्ला इन्चार्ज अमर तमुले मुलुकको स्वाधीनता र रास्ट्रीयता जोगाउन सक्ने माओवादी वाहेक देशमा अन्य कुनै पार्टी नभएको बताउनुभयो ।
उहाँले सवै खालका बामपन्थी शक्तिलाई केन्द्रित अघि बढ्ने र माओवादीले समेत आफुले गरेका कमिकमजोरीलाई सच्याएर अघि बढ्नुपर्नेमा जोडदिनुभयो । बैठकमा माओवादी केन्द्रका केन्द्रीय सदस्य सुशिला सिंखडा, कृष्ण के.सीलगायतले पनि धारणा व्यक्त गर्नुभएको थियो । बैठकले गोरखाको चारवटै प्रदेश निर्वाचन क्षेत्रमा माओवादीले जितेको स्थानीय सरकारको कामलाई प्रभावकारी बनाउन र पार्टी सगठन सुदृढ जिम्मेवारी ठोस समेत गरेको छ ।
जसअन्र्तगत क्षेत्र नम्बर १ (क) मा केन्द्रीय सदस्य लेखबहादुर थापा, १(ख) मा लोकप्रसाद बन्जरा, क्षेत्र नम्बर २ (क) मा कमला नहर्की र २ (ख) मा भगवती तिवारीलाई जिम्मेवारी तोकिएको पार्टीका जिल्ला संयोजक छमबहादुर गुरुङले जानकारी दिनुभयो । बैठकमा जिल्ला भित्रका ११ वटै पालिकाका पार्टी अध्यक्ष तथा इन्चार्जहरुले पालिकाको रिर्पोट पेश गरेको उहाँले बताउनुभयो ।
बैठकमा पार्टीका केन्द्रीय सदस्यहरु लेखबहादुर थापामगर, बिष्णुप्रसाद भट्टलगायतका केन्द्रीय सदस्यहरु, प्रदेशसमितिका सदस्यहरु, जिल्ला समन्वय समितिका पदाधिकारी तथा सदस्यहरु, गाउँपालिका पार्टी समितिका पदाधिकारीहरुको सहभागिता रहेको जिल्ला सचिव अंकुर तिमल्सिनाले जानकारी दिनुभयो ।