गोरखा,१९ भदौ । बुधबार नेप्से परिसूचक उच्च अंकले घटेको छ । नेप्से ९०.७३ अंकले घटेर २७३९।४६ विन्दुमा बन्द भएको छ । यसदिन कारोबार रकममा पनि कमी आएको छ । मंगलबार १३ अर्ब ५७ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन १२ अर्ब ९२ करोडको कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकममा ६५ करोड रूपैयाँ कमी आएको हो । यसदिन ३२० वटा धितोपत्रको दुई करोड ६५ लाख ८४ हजार १९२ कित्ता सेयर किनबेच भएको हो ।
बुधबार ३१ कम्पनीको सेयर मूल्य बढेको छ भने २१३ वटाको घटेको छ। यस्तै, एक कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । यसदिन चार कम्पनीको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।
एक्सेल डेभलपमेन्ट बैंक, विन नेपाल लघुवित्त, सामुदायिक लघुवित्त र समाज लघुवित्तको सेयर मूल्य १० प्रतिशतका दरले बढेको हो । यस्तै, कुमारी इक्विटी फण्डको मूल्य सर्वाधिक १० प्रतिशतले घटेर इकाइ मूल्य ९ रूपैयाँ ६२ पैसामा झरेको छ ।
कुमारी धनवृद्धि योजनाको मूल्य ८.६१ प्रतिशतले घटेको छ । उक्त योजनाको मूल्य ९ रूपैयाँ ७६ पैसा कायम भएको छ । बुधबार नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ६५० रूपैयाँमा ३० करोड ५२ लाखको सेयर कारोबार भएको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा २.२५ प्रतिशत घटेको हो । सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा एक्सेल डेभलपमेन्ट बैंक रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ६४४ रूपैयाँ ४० पैसामा ३० करोड १५ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको छ । यसदिन वित्त समूहको परिसूचक सर्वाधिक ५।१५ प्रतिशतले घटेको छ भने दोस्रोमा होटल्स तथा पर्यटनको परिसूचक ४।४७ प्रतिशतले घटेको छ ।