काठमाडौं, १८ भदौ । ट्रेकिङ व्यवसायीहरूको छाता संगठन ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल टानको अध्यक्षमा सागर पाण्डे विजयी हुनुभएको छ । कांग्रेस(एमाले गठबन्धनका साझा उम्मेदवार राजेन्द्र सापकोटालाई पराजित गर्दै पाण्डे अध्यक्षमा विजयी हुनुभएको हो । पाण्डे माओवादी केन्द्र निकट मानिन्छन् ।
पाण्डेलाई माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादी र स्वतन्त्र व्यवसायीको साथ थियो । आज बिहान सम्पन्न मतगणना अनुसार पाण्डेले ५८० मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी सापकोटाले ४८० मत प्राप्त गरेका छन् । टानको वरिष्ठ उपाध्यक्षमा भने सापकोटा प्यानलका कर्मा शेर्पा विजयी हुनुभएको छ ।
उहाँले ५५८ मत पाउँदा पाण्डे समूहका चोलेन्द्र कार्की पराजित भएका निर्वाचन समितिले जनाएको छ । टानको प्रथम उपाध्यक्षमा सापकोटा समूहका विष्णुप्रसाद लम्साल निर्वाचित भए भने द्वितीय उपाध्यक्षमा सनम शेर्पा निर्वाचित भएका छन्।
महसचिवममा भने पाण्डे समूहका सोनाम ग्यल्जेन शेर्पा निर्वाचित भएका छन् । उहाँले सापकोटा समूहका राजेन्द्र प्रसाद सुवेदीलाई पराजित गरेका हुन् । त्यसैगरी सचिवमा रिन्जी जाङबु शेर्पा, कोषाध्यक्षमा गौतम राज वाग्ले र सहकोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पा निर्वाचित भएका छन्।सदस्यहरूमा पवित्रा तामाङ अम्बिर बहादुर गुरुङ, विनोद तामाङ, होम बहादुर विश्वकर्मा, फुर्पु छिरिङ ल्होमी भोटे निर्वाचित भएका छन् ।
यही भदौ १७ गतेदेखि सुरु भएको टानको साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको हो । निर्वाचनमा दुई वटा प्यानलबीच प्रतिस्पर्धा भएको थियो ।