Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

बेपत्तालाई सहिदको दर्जा दिने प्रचण्डको आश्वासन


1.3K
Shares

बेपत्तालाई सहिदको दर्जा दिने प्रचण्डको आश्वासन

पोखरा, ११ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पोखरा आएको थाहा पाएपछि बेपत्ता तथा सहिद परिवार उहाँलाई भेट्न लेकसाइड पुग्नुभयो ।

लेकसाइडको बरपिपल रिसोर्टमा माओवादीको प्रशिक्षण भेला समापन हुँदै थियो । उनीहरू रिसोर्ट बाहिर बसेर प्रचण्डलाई भेट्न पाउनुपर्ने माग राखे । उनीहरूको माग पूरा भयो । सहिद तथा बेपत्ता परिवारले प्रचण्ड भेट्न पाए ।

प्रचण्डलाई भेट्न छिरेका एक जना सहिद परिवारले आफूमात्र बनेर देश खत्तम भएको प्रचण्डलाई बताउनुभयो । माओवादीले भाग लिएको पहिलो चुनावको आश्वासन सम्झाउनुभयो ।

‘आफू मात्र बनेर देश खत्तम भयो । माओवादी कस्तो हुनुपर्छ भनेर गएको होइन, तपाईंहरूलाई चुनाव जिताउँदा माओवादी कस्तो हुनुपर्छ भन्नुभाथ्यो ? कुहियो सबै,’ सहिद परिवारले भन्नुभयो ।

प्रचण्डले सहिद तथा बेपत्ता परिवारलाई आश्वस्त पार्न खोजे । उहाँले दुबै सदनबाट संक्रमणकालीन न्याय सम्बन्धी विधेयक टिआरसी पारित भएकाले अब सहिद तथा बेपत्ता परिवारलाई सम्मान दिने ढोका खुलेको बताउनुभयो ।

‘दुबै सदनबाट टिआरसी पारित भएर टुंगियो । अब ढोका खुल्यो, सहिद, बेपत्ता परिवारलाई सम्मान दिने । उनीहरूका नाममा पार्क बनाउने। मेहनत धेरै भयो। निकै लामो समय पनि लागे । अहिले टुङ्गिएको छ,’ उहाँले भन्नुभयो ।

उहाँले आफू प्रधानमन्त्री भएर सबै सहिदलाई राष्ट्रिय सहिद घोषणा गरेर राजपत्रमा प्रकाशित गरेको पनि सम्झाउनुभयो।

‘हाम्रा सहिदहरू राष्ट्रिय सहिद घोषणा नहुने । यो पटक सरकारले सबैलाई राष्ट्रिय सहिद घोषणा मात्र गरेको होइन, राजपत्रमा प्रकाशित गरियो। सबै सहिद राष्ट्रिय सहिदको दर्जामा जानुभाछ। यो खुसीको कुरा हो,’ प्रचण्डले भन्नुभयो ।

सहिद परिवारलाई आश्वस्त पार्न खोज्दा खोज्दै बेपत्ता परिवारले सोधे, ‘कसरी बनाइन्छ खुसी ?’ उनीहरूले बेपत्ता व्यक्ति कहाँ छन् भन्ने पनि टुङ्गो नभएको र मृत्यु भए नभएको टुङ्गो नलाग्दा जातीय संकार अनुसार अन्त्येष्टि गर्न पनि नपाएको बताएका थिए ।

प्रचण्डले जबाफमा बेपत्ता छानबिन गर्न धेरै समय नलाग्ने भन्दै पत्ता नलागे सहिद घोषणा गरेर परिपूरण दिइने आश्वासन दिनुभयो ।

‘टिआरसी सहिदका लागि मात्र होइन, बेपत्ताका लागि पनि हो। बेपत्ताको छानबिन हुन्छ । भेटिएन भने सहिदकै सम्मान र सहिदकै परिपूरण पाउनुहुन्छ। बेपत्ता भेटियो भने त झन् राम्रो भइहाल्यो । बेपत्ताको छानबिनमा धेरै समय लाग्दैन। छिटो छिटो काम हुन्छ,’ उहाँले बेपत्ता व्यक्तिका परिवारलाई भन्नुभयो ।

ु

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology