गोरखा, १० भदौ । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले किसानले उत्पादन गरेका कृषिजन्य उत्पादन बिक्री नभए त्यसको बजारीकरणको जिम्मेवारी प्रदेश सरकारले लिने बताउनु भएको छ ।
गोरखाको सिरानचोक गाउँपालिका–५, स्थित छोप्राकमा आज आयोजित एक कार्यक्रममा बोल्दै उहाँले अव उत्पादनले बजार पाउँदैनकी भनेर गण्डकी प्रदेश भित्रका किसान डराउनु नपर्ने अवस्था नरहेको बताउनुभयो । ‘किसानले आफुैले बिक्री गर्न चाहेमा आफ्नो उत्पादन बिक्री गर्न सक्छन्, मुख्यमन्त्री पाण्डेले भन्नुभयो, ‘‘तर उत्पादन बिक्री नभएमा प्रदेश सरकारले तोकिएको समर्थन मूल्यमा खरिद गरिदिन्छ, तपाईहरु ढुक्क भएर उत्पादनतर्फ लाग्नुस् ।’’ उत्पादनमा आधारित कृषि अनुदानमा प्रदेश सरकारले जोड दिदैँ आएको भन्दै उहाँले वास्तविक किसानलाई अनुदान पु¥याउने गरी काम गर्न सुरु गरेको दावी गर्नुभयो ।
न्यनुतम एक हेक्टर जमिनमा व्यवसायिक कृषि खेती गर्ने किसानलाई तीन लाखसम्म अनुदान उपलब्ध गराउने गरी सरकारले कार्यक्रम कार्यान्वयनमा ल्याएको मुख्यमन्त्री पाण्डेको भनाई छ । ‘‘व्यवसायिक रुपमा तरकारी खेती, फलफुल खेती, माछा पालन, मासुजन्य उत्पादन कुखुरा पालन, बाख्रा पालनलगायतका सवै कृषि व्यवसायमा अनुदानको कार्यक्रम ल्याइएको छ, उहाँले भन्नुभयो,‘‘एक्लै गर्नुस् वा समुहमा व्यवसायीकरुपमा गर्नुस् हामी अनुदान उपलब्ध गराउछौँ र बजारको पनि जिम्मेवारी लिन्छौ ।’
’मुख्यमन्त्री पाण्डेले गाउँबाट बसाइ सरेर जाने र गाउँ रित्तिनेक्रम बढेकाले त्यसलाई रोक्न गाउँमै आयआर्जनसंग युवालाई जोड्न सकिने खालका कार्यक्रम प्रदेश सरकारले ल्याएको बताउनुभयो ।
‘‘गाउँ छोडेर गएपछि मात्र उन्नतीप्रगती हुन्छ भन्ने मानकितालाई पनि अव हामीसवैले त्याग्नुपर्छ, उहाँले भन्नुभयो, ‘‘युवाका लागि गाउँमै केही गर्नसक्ने गरी अनुदानका कार्यक्रम यसबर्षदेखि सरकारले ल्याएको छ ।’’ गोरखा क्षेत्र नम्बर २ प्रदेशसभा (ख) का प्रदेशसभाका सदस्य समेत रहनुभएका मुख्यमन्त्री पाण्डेले निर्वाचनमा गरको प्रतिवद्धता अनुसार निर्वाचन क्षेत्रका प्रत्येक वडामा बाह्रै महिना यातायात चल्नसक्ने गरी सडक निर्माण गर्ने प्रतिवद्धता समेत दोहो¥याउनुभयो ।