गोरखा, ९ भदौ । गएको तीन महिनाको अवधीमा गोरखाको एक सहित नेपालमा तीनवटा हिमताल फुटेका छन् । नेपालमा हिमताल फुट्ने क्रम बढ्न थालेको छ । साढे तीन महिनाको अन्तरालमा गोरखाको वीरेन्द्र हिमताल र सोलुखुम्बुको थामेदेखि माथिका दुईवटा हिमताल फुटेका छन् ।
यसअघि २ वर्ष अघिको एक अन्तराष्ट्रिय अध्ययनले नेपालसहित भारत र चीनमा ४७ वटा हिमताल फुट्ने जोखिम रहेको देखाएको थियो । शुक्रवार मात्रै सोलुखुम्बुको थामे क्षेत्रमा हिमताल फुटेर बाढी आएको थियो ।
बाढीले बस्ती बगे पनि मानवीय क्षति हुन पाएन । जलवायु परिवर्तनका कारण बढ्दो तापक्रम हिमताल फुट्नुको मुख्य कारण रहेको जल तथा मौसम विज्ञान विभागको हिम सर्वेक्षण तथा हिमताल शाखाका प्रमुख दिनकर कायस्थले जानकारी दिनुभयो ।
ईसिमोडले २ वर्ष अघि सार्वजनिक गरेको एउटा प्रतिवेदनले हिन्दू कुश क्षेत्रमा २५ हजारभन्दा बढी हिमताल रहेको र त्यसमध्ये ४७ वटा फुट्न सक्ने खतरनाक अवस्थामा रहेको देखाएको थियो । जसमा कोशी, गण्डकी र कर्णाली जलाधार क्षेत्रका अधिकांश हिमताल रहेका छन् ।
जलवायु परिर्वतनका साथै नेपाल भूकम्पकोसमेत उच्च जोखिममा रहेकाले हिमताल फुट्ने सम्भावना धेरै रहेको हिमताल विज्ञ बसन्तराज अधिकारीले बताउनुभयो ।
हिमताल विष्फोटको क्षति कम गर्न हिमतालको पानी सुकाउने विधि अपनाउन सकिने, सानो कुलेसो बनाएर पानी बग्ने क्षेत्र बनाउन सकिने हिमताल विज्ञले सुझाव दिएका छन् । हिमनदी आसपासका मानिसलाई मौसममा आधारित सूचना सम्पे्रषण गनुपर्नेमा पनि उनीहरूको जोड छ ।