काठमाडौं,८ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेपालमा महिला प्रधानमन्त्री बनाउन चाहेको बताउनुभएको छ । शनिबार काठमाडौंमा भएको युथ कन्क्लेभमा सहभागीको प्रश्नको जवाफ दिँदै उनले महिला प्रधानमन्त्री बनाउन तयारी गर्नुपर्ने बताउनुभयो ।
‘म महिला प्रधानमन्त्री बनाउन चाहन्छु तर त्यसका लागि अलिकति तयारी गर्नुपर्छ । दुई महिना, तीन महिना, अर्को साल महिला प्रधानमन्त्री बनाइहाल्छु भन्न मुश्किल हुन सक्छ, छिट्टै बनाउने तयारीका बारेमा सोचिरहेको छु’, उहाँले भन्नुभयो ।
आफू महिलाको हितका लागि जहिल्यै क्रियाशील रहेको भन्दै उनले पहिलो राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुख पनि आफ्नै पालामा भएको बताउनुभयो ।
‘म कमसे कम यस्तो शौभाग्यशाली मान्छे हुँ, जसले पहिलो राष्ट्रपति महिला बनायो, पहिलो प्रधानन्यायाधीश महिला बनायो, पहिलो सभामुख महिला बनायो’, उहाँले बताउनुभयो ।
नेपालमा पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारी, पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्की र पहिलो महिला सभामुख ओनसरी घर्ती हुन् । ओलीले पहिलो रक्षामन्त्री पनि आफ्नो दलबाटै बनेको भन्दै अहिले पहिलो महिला मुख्यसचिव पनि आफूले नै बनाएको बताउनुभयो । ‘अहिले भर्खरै म आउनेबित्तिकै मौका पाएँ एउटा महिलालाई मुख्य सचिव बनाइहालेँ’, प्रधानमन्त्री ओलीले भन्नुभयो ।
अहिले विदेश भ्रमणमा जाने सरकारी प्रतिनिधिमण्डलमा महिला अनिवार्य गरेको पनि उहाँले बताउनुभयो ।
आफूले महिलाको लागि थुप्रै काम गरेको भन्दै उनले राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने व्यवस्थामा पनि आफ्नो प्रमुख भूमिका रहेको दाबी गनुभयो ।
महिलाको मनोबल उठाउन, आत्मविश्वास जगाउन र उनीहरुलाई आर्थिक हिसाबमा सबल बनाउन आफूले नै स्टार्ट अपमा ४ प्रतिशत ब्याजदरमा १५ लाख रुपैयाँ दिने व्यवस्था गरेको प्रधानमन्त्री ओलीले बताउनुभयो ।