चितवन,७ भदौ । चितवनस्थित मुग्लिन नारायणगढ सडकखण्डमा बसमाथि ढुंगा खस्दा अनियन्त्रित भएर पल्टिएको छ । शुक्रबार दिउँसो पौने २ बजे भरतपुर महानगरपालिका(२९ सत्रकिलोमा रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग २ ख ४७ नम्बरको बसमाथि ढुंगा खसेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालले जानकारी दिनुभयो । अचानक बसमाथि ढुंगा खसेपछि चालक आत्तिँदा बस अनियन्त्रित भएर पल्टिएको हो । बस दुर्घटनामा घाइते हुनेको संख्या २५ पुगेको डिएसपी रिजालले बताउनुभयो ।
घाइतेको उद्धार गरी उपचारको लागि भरतपुरतर्फ पठाइएको प्रशासनले जनाएको छ । घाइतेलाई चितवनको विभिन्न अस्पतालमा उपचारको लागि पठाइएको छ। दुई जना गम्भीर रहेको डिएसपी रिजालले बताउनुभयो ।
बसमा क्षति पुगेको छ। बस घटनास्थलमै राखिएको हुँदा सडक केहीबेर अवरूद्ध भएको थियो। अहिले उक्त सडक खुलिसकेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवन, जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट प्रहरीको टोली खटिएको थियो । यसअघि पनि दुई वटा सवारीसाधनमा ढुंगा खसेको थियो। मानवीय क्षति भने भएको थिएन ।