काठमाडौं,७ भदौ । मुस्ताङ, थसाङ गाउँपालिका वडा नम्बर २ कोबाङमा हिमपहिरो खसेको छ। हिमपहिरो आएर बोक्से खोला थुनिएको मुस्ताङमा प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो ।
‘दिउँसो दुई बजे बोक्से खोला थुनिएको जानकारी आयो । यहाँबाट टोली गएर हेर्दा हिमपहिरो खसेर खोला थुनिएको देखियो,’ उहाँले भन्नुभयो, ‘पूरै हिमपहिरो तल खसेको पनि छैन। नदीचाहिँ थुनिएकै अवस्थामा छ।’
बोक्से म्याग्दीबाट जोमसोम नपुग्दै वरै पर्छ । खोलाको तटीय क्षेत्रमा ९ घरहरू रहेको उनीहरूलाई सुरक्षित स्थानमा जान भनिसकिएको पन्तले जानकारी दिनुभयो। खोला थुनिएपछि तीनवटै सुरक्षा निकायलाई सतर्क राखिएको पनि प्रजिअ पन्तले बताउनुभयो ।
मुस्ताङ लेतेमा दिउँसो साढे ३ बजेको तापक्रम १७.२८ रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । २०७८ कात्तिक २८ गते पनि कोबाङ क्षेत्रमा हिमपहिरो आएको थियो ।