गोरखा, २३ साउन । गोरखाको गण्डकी गाउँपालिकाले पालिका भित्र पालिका, संघ र प्रदेश सरकारको सहकार्यमा हुने विकास निर्माणका काम सम्पन्न गर्न चालु आर्थिक बर्षका लागि बिनियोजित योजनाको सर्भेलगायतका काम सुरु भएको छ ।
गाउँपालिकाले विकास निर्माणको कामलाई समयमा सम्पन गर्न समपुरक तर्फका आयोजनाको सर्भे गर्न सुरु गरेको गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिना (साकार) ले जानकारी दिनुभयो । गाउँपालिकाले साउन महिना भित्र नै त्यस्ता योजनाको सर्भे सम्पन गरी भदौ महिना भित्रमा बोल पत्र आवहन गर्ने गरी काम थालेको उहाँको भनाई छ ।
जस अन्र्तगत बुट्टार मकैसिङ सडक खण्ड स्तरोन्नतीका लागि सर्भेको काम सम्पन्न भइसकेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले पालिका भित्रका समपुरक आयोजनाका बारेमा आवश्यक सरसल्लाह र सुझाव दिन समेत पालिकाबासीहरुलाई अनुरोध गरेको छ ।
चालु आर्थिक बर्षमा गण्डकी गाउँपालिकामा गाउँपालिका तथा संघ सरकार साझेदारीमा फिस्लिङ भैरवी सडक खण्डका लागि रु ३ करोड, गाउँपालिकाको वडा नम्बर ८ देखि वडा नम्बर ७ जाने बाटो स्तरोन्नतीका लागि रु २ करोड ९० लाख बजेट बिनियोजन भएको छ ।
त्यस्तै प्रदेश सरकारसंगको साझेदारीमा बुट्टार मकैसिङ सडक स्तरोन्नतीका लागि रु १ करोड २० लाख रुपैया बिनियोजन भएको गाउँपालिकाले जनाएको छ ।