Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

पालुङटार नगरपालिकाले बाँदर नियन्त्रणका लागि सामुदायिक वनमा रोपियो फलफुलका बिरुवा


1.2K
Shares

पालुङटार नगरपालिकाले बाँदर नियन्त्रणका लागि सामुदायिक वनमा रोपियो फलफुलका बिरुवा

गोरखा, ८ साउन । गोरखाको पालुङटार नगरपालिकाले बाँदर नियन्त्रणका लागि नगरक्षेत्र भित्रका सामुदायिक वन तथा खाली जमिनमा फलफुलका बिरुवा रोप्न गर्न सुरु गरेको छ ।

नगरपालिकाले चालु आर्थिक बर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रममार्फत नगरपालिका भित्र बाँदर नियन्त्रणका लागि घोषणा गरेको ‘वनको बाँदर वनमै’ कार्यक्रम अन्र्तगत शनिबार एकैदिन खाली जमिन, खोल्सा तथा सामुदायिक वनमा ६ हजार भन्दाबढी फलफुलका बिरुवा सारिएको नगरप्रमुख विवस चिन्तनले जानकारी दिनुभयो ।

‘‘पन्ध्रौ नगरसभाबाट पारित नीति तथा कार्यक्रम अनुसार नगरपालिका क्षेत्रका जंगलमै बाँदरका लागि खानेकुरा उब्जाउन फलफूलका बिरुवा लगाउने योजना बनाएका थियौँ, उहाँले भन्नुभयो, ‘‘सोही कार्यक्रम अन्र्तगत सामुदायिक जंगल तथा खाली जग्गाहरुमा फलफुलका बोटबिरुवा सार्न थालिएको हो ।’’ जंगलमा बाँदरका लागि आहारको व्यवस्था गर्न सकिए बाँदरलाई जंगलमै रोक्न सकिने उहाँको भनाई छ ।

नगरपालिकाले वन उपभोक्ता समिति, टोलसुधार समितिलगायतसंग समन्वय र सहकार्य गरेर बाँदर नियन्त्रणका लागि जंगलमा फलफुलका बिरुवा लगाउन थालेको हो । पहिलो चरणमा गाउँघरमा वरपर उपलब्ध हुने फलफुलजन्य बिरुवाहरु आँप, केरा, कटहर, बरपिपल, स्वामी, किम्बु, अम्बा, लिची, कटहर, लप्सी लगायतका बिरुवाहरु रोपिएको नगरप्रमुख चिन्तनले बताउनुभयो ।

सामुदायिक वन, खोल्सी तथा बाँझो जमिनमा लगाइएको फलफुलको उत्पादन हुन थालेसंगै बाँदर जंगलमा भुल्ने र बाँदरबाट खेतीबाली जोगाउन सकिने विश्वास नगरपालिकाको रहेको छ । नगरपालिका भित्रका कर्मचारी, सामुदायिक वन उपभोक्ता समितिका सदस्यहरु, टोलसुधार समितिका सदस्यहरु, नगरबासी, राजनीतिक दलका प्रतिनिधिहरुलगायतको पनि सहभागितामा बृक्षारोपण गरिएको हो ।

फलफुलका बिरुवा गरिएका स्थानको संरक्षण र दिगोपनाका लागि निरन्तर कार्यक्रम सञ्चालन गर्दै जाने र बाँकी रहेका स्थानहरुमा बृक्षारोपण गर्दै जाने नगरपालिकाको योजना रहेको छ, नगरप्रमुख चिन्तनले भन्नुभयो, ‘‘सवैपक्ष मिलेर काम गर्न सकियो भने दीर्घकालिन रुपमा बाँदरबाट बालीनाली जोगाउन सकिन्छ भन्ने हाम्रो विश्वास छ ।’’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology