गोरखा, ४ साउन । गोरखाको भीमसेनथापा गाउँपालिकाले कृषि व्यवसायलाई यान्त्रिकीकरण गर्दै लैजान वडा–वडामा अनुदानमा कृषि औजार वितरण गरेको छ । पालिका भित्रका प्रत्येक वडामा एउटा कृषि सहकारी छनौट गरेर वडाका सवै किसानले प्रयोगमा ल्याउन सक्नेगरी कृषि औजार वितरण गरिएको गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बञ्जराले जानकारी दिनुभयो ।
किसानलाई प्रोत्साहित गर्दै कृषि कर्मलाई यान्त्रिकीकरणमा जोड दिने र व्यवसायिक कृषि पेशामा प्रोत्साहित गर्ने उद्देस्यसहित कृषि सहकारी छनौट गरी पूर्णअनुदानमा कृषि औजार वितरण गरिएको उहाँले बताउनुभयो । पालिकाले २७ लाख १५ हजार रुपैया बराबरको कृषि औजार खरिद गरेर वितरण गरेको गाउँपालिका कृषि शाखाका प्रमुख विनोद भन्तनाले जानकारी दिनुभयो ।
‘‘सवै कृषि सहकारीलाई समान रुपमा विउ रोप्ने उपकरण ७ थान, थ्रेसर, चाफ कटर, पानी तान्ने पम्प १÷१ थान वितरण गरिएको छ, उहाँले भन्नुभयो, ‘‘त्यसवाहेक स्प्रे पम्प ३ थान, ट्याक्टर ४ थान, घाँस काट्ने मेसिन २ थान र मकै छोडाउने मेसिन प्रतिवडा ५ थान वितरण गरिएको छ ।’’ वितरण गरिएका कृषि औजार सहकारीमार्फत न्युन शुल्क तिरेर किसानहरुले प्रयोग गर्नेछन् ।
‘‘कृषि उपकरणको अभावमा कृषिमा लागत बढी र उत्पादन कम हुने अवस्था छ, उहाँले भन्नुभयो, ‘‘यसले गर्दा कृषि पेशा प्रतिको किसानहरुको आर्कषण समेत घट्दो छ, अव कृषिलाई आधुनिकीकरण गर्दै उत्पादन बढाउनका लागि प्रविधीको प्रयोगमा विशेष जोड दिने गाउँपालिकाले योजना रहेको छ ।’’
गाउँमा धेरै खेतीयोग्य जमिन बाँझो हँुदै गएकाले कृषिलाई प्रविधीमैत्री बनाउन सके कम लगानीमा बढी उत्पादन गर्न सकिने उहाँको भनाई छ । ‘‘परम्परागत खेती प्रणालीले कृषि उत्पादन बृद्धि गर्न सकिदैन, प्रमुख भन्तनाले भन्नुभयो, ‘‘अव लागत कम गरेर उत्पादन बढाउनका लागि पनि कृषिमा यान्त्रिकीकरण गर्नु अनिवार्य भएको छ ।’’