गोरखा, २ साउन : गोरखाको बारपाक सुलिकोट गाउँपालिका–१, बारपाकस्थित ताक्लेनान डाँडामा रहेको ‘बुद्ध पार्क’ अहिले बारपाक पुग्ने पर्यटकलाई भुलाउने प्रमुख गन्तव्य बन्दै गएको छ । बारपाकको परम्परा, इतिहास, कला र संस्कृति झल्कने गरी निर्माण गरिएको ‘बुद्ध पार्क’ पुगेपछि पर्यटकहरु तस्विर खिचाउन मात्र होइन सिंगो बारपाकको दृष्यावलोकनका लागि घण्टौसम्म त्यहाँ भुल्ने गरेका छन् ।
‘‘पार्कमा रहेको सुन्दर र आर्कषक चित्राकृतिले पनि पर्यटकलाई लोभ्याउने गरेको छ, स्थानीयबासी मनबहादुर घलेले भन्नुभयो, ‘‘बारपाक आएका पर्यटकहरु ‘बुद्ध पार्क’ मा नपुगी सायदै कोही फर्कदैनन् होला ।’’ ‘बुद्ध पार्क’ले बारपाकमा पर्यटकको आर्कषण थपिएको उहाँको भनाई छ ।
‘‘बारपाक आफैमा प्राकृतिक हिसावले पनिसुन्दर गाउँ हो, उहाँले भन्नुभयो,‘‘यहाँको आफ्नै कला, संस्कृति र विशेषता छ, त्यसमाथि ताक्लेनान डाँडामा बनेको ‘बुद्ध पार्क’ ले बारपाकीको संस्कृतिलाई थप उजागर गरिदिएको छ ।’’ बारपाक आउने पर्यटकहरु ‘बुद्ध पार्क’ मा घण्टौसम्म बसेर रमाउने गरेको घलेले बताउनुभयो ।
बारपाकको सिङ्गगो दृष्य देख्न सकिने स्थानमा निर्माण गरिएको ‘बुद्ध पार्क’ मा करिब ५ फिट अग्लो बुद्धको मूर्ति आर्कषक ढंगले राखिएको छ । त्यस्तै पार्कमा बौद्ध धर्म, संस्कृति झल्कने खालका मानीलगायतका सामाग्रीहरु पनि रहेको बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष बिष्णुप्रसाद भट्टले बताउनुभयो ।
‘‘पार्कमा पुग्ने पर्यटकले बारपाकको मनोरम दृष्यावलोकनसंगै बारपाकीहरुको संस्कृतिलाई राम्रोसंग बुझ्न र अध्ययन गर्ने अवसर समेत प्राप्त गर्छन्, उहाँले भन्नुभयो, ‘‘त्यसैले पनि ‘बुद्ध पार्क’ बारपाक पुग्ने पर्यटकको रोजाईको केन्द्र बन्दै गएको छ ।’’
‘बुद्ध पार्क’ ढुङ्गगै ढुङ्गगाको कलात्मक सजावटबाट निर्माण गरिएको पार्क हो । ‘‘यो पार्क बारपाक भित्रै अर्को पर्यटकीय गन्तव्य पनि बनेको छ, उहाँले भन्नुभयो, ‘‘प्राकृतिक स्वरुप झल्किएको यस पार्कको थप प्रचारप्रसार गर्नसके बारपाकमा अझै धेरै पर्यटक भित्र्याउन सकिन्छ भन्ने हाम्रो विश्वास छ ।’’
दोस्रो बिश्वयुद्धमा भिक्टोरिया क्रसको उपाधि प्राप्त गर्नुभएका बिर गजे घलेको गाउँ बारपाक बि.स २०७२ साल बैशाख १२ गते गएको बिनासकारी गोरखा भुकम्पको केन्द्र विन्दु पनि हो ।