काठमाडौ, १७ असार । माध्यमिक शिक्षा परीक्षा एसईईको पुरक परीक्षा आगामी साउन २३ देखि हुने भएको छ । शिक्षा मन्त्रालयले निर्णय गरेसँगै राष्ट्रिय परिक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले २३ साउनदेखि ३१ साउनसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।
यो पूरक परीक्षामा एसईईको नतिजामा एनजी ननग्रेडेड आएका विद्यार्थीहरूले ग्रेड वृद्धिका लागि सहभागी हुन पाउनेछन् । यसअघि बढीमा दुईवटा विषयमा एनजी आएका विद्यार्थीलाई मात्र सहभागी गराउने भनिएको थियो । तर, पछि एनजी आएका सवै विद्यार्थीले पूरक परीक्षा दिन पाउने निर्णय भएको छ ।
सुरुमा साउन १८ र १९ मा पूरक परीक्षा सञ्चालन गर्ने भनिएको थियो । एसईईको नतिजा सार्वजनिक गर्दै बोर्डका अध्यक्ष महाश्रम शर्माले उक्त जानकारी दिएका थिए । तर, सबै विषयमा एनजी आएका विद्यार्थीले पूरक परीक्षा दिन पाउने भएपछि साउन २३ देखि परीक्षा सञ्चालन हुने भएको हो ।
साउनमा सञ्चालन हुने पूरक परीक्षाको नतिजा असोज पहिलो साताभित्र सार्वजनिक गर्ने बोर्डको तयारी छ । यसले विद्यार्थीको उच्च शिक्षा अध्ययनमा असर नपरोस् भन्नेमा बोर्डले गम्भीर रूपमा काम गरिरहेको बताइएको छ ।