काठमाडौं, २७ जेठ । त्रिशुली नदीमा बेपत्ता भएका एक बालकको शव फेला परेको छ । शनिबार अपराह्न ४ बजे धादिङको गजुरी गाउँपालिका वडा नम्बर ५ घाटबेशी बस्ने १५ वर्षीय युनिक सुवेदी र १३ वर्षीय रिदम रोइला बेपत्ता भएका थिए । उनीहरूमध्ये आइतबार दिउँसो सवा १ बजे सुवेदीको शव फेला परेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले बताउनुभयो ।
उहाँका अनुसार नदी किनारमा उनीहरूको कपडा भेटिएको थियो। त्यो कपडा फेला परेको करिब १०र१५ मिटरनजिक करिब २० फिट गहिराइमा शव फेला परेको हो । दुई बालक बेपत्ता भएको भन्दै गएराति साढे ११ बजे सशस्त्र प्रहरीलाई खबर भएको थियो ।
त्यसपछि सशस्त्र प्रहरीको नेपाल विपद् व्यवस्थापन बेश आदमघाटबाट डिएसपी मदनकुमार रसाइलीको कमाण्डमा ७ जनाको टोली खटिएको थियो । तर फेला पार्न नसकेपछि मध्यराति टोली फर्किएको थियो । आइतबार बिहान पुन ः टोलीले खोजी गरेको थियो।
बिहान ११ बजेसम्म पनि फेला नपरेपछि कुरिनटारस्थित शिक्षालयबाट सशस्त्र प्रहरी निरीक्षक धनकुमार अधिकारीको कमाण्डमा पाँच जना गोताखोर र दुई जना अन्य गरी सात जनाको टोली खटिएको थियो । सो टोलीले सवा १ बजे एक जना बालकको शव फेला पारी निकालेको हो । अर्को बालकको खोजी जारी छ ।