सुर्खेत, २७ जेठ । कर्णाली नदीमाथिको झोलुंगे पुलमा फसेका १३ मध्ये ११ वटा खच्चडको पाँच घन्टापछि उद्धार गरिएको छ । जीर्ण भइसकेको झोलुंगे पुलको जालीमा खुट्टा अड्किएर खच्चड फसेका थिए ।
८ वटा खच्चडलाई पुलको जाली काटेर कर्णाली नदीमा खसाएर उद्धार गरिएको हो भने तीन वटालाई बगरमा खस्ने जोखिम भएपछि डोरीले तानेर उद्धार गरिएको हो । नदीमा खसालिएका ८ वटा खच्चडलाई डुंगाको सहायताले किनारमा लगिएको थियो । पुलमा फसेका दुइटा खच्चडलाई भने बचाउन सकिएन।
एउटा खच्चड पुलमै र अर्कोलाई जाली काटेर नदीमा खसाएपछि मरेको आठबीस नगरपालिका वडा नम्बर ६ का अध्यक्ष नवराज शर्माले बताउनुभयो ।
आइतबार बिहान दैलेखको आठबीस नगरपालिका–४ खिड्कीज्युला र अछामको पञ्चदेवल विनायक नगरपालिका–९ कालेडाँडा जोड्ने झोलुंगे पुलमा १३ वटा खच्चड फसेका थिए ।
ती खच्चडले सामान बोक्दै आएका थिए। आइतबार पनि अछामबाट चामल लिन दैलेख आउँदै गर्दा जीर्ण भइसकेको पुलमा फसेका थिए । पुलमा खच्चड हिँड्न थालेपछि एकतर्फका लठ्ठा चुडिँदा १३ वडा खच्चड पुलकै जाली अड्केका हुन् । लठ्ठा चुडिँएको भाग कोल्टे परेको छ । पुलमा फसेका खच्चडको उद्धार गर्न अछाम र दैलेखबाट नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।
सुरक्षाकर्मीले स्थानीय बासिन्दाको समेत सहयोगमा खच्चड पुलमा फसेको करिब दुई घन्टापछि मात्रै उद्धार सुरू गरेका थिए। खच्चडहरू आइतबार बिहान करिब ९ बजे पुलमा अड्किएका थिए।
ती खच्चडहरूको दिउँसो साढे दुई बजे उद्धार सकिएको सुरक्षाकर्मीहरूले जनाएका छन्। पुलमा फसेका खच्चडहरू फरक(फरक व्यापारीका हुन् ।