गोरखा, २७ जेठ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले बर्तमान सरकारले हरेक नेपाली जनताको जीवनस्तर उकास्ने गरी काम गरिरहेको बताउनु भएको छ ।
नेकपा माओवादी केन्द्रले गोरखाको सिरानचोक गाउँपालिका–८ मा आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले राजनैतिक अधिकार प्राप्त गर्ने कुरामा मात्र पछिल्लो राजनीतिक परिवर्तन समिति हुन नहुनेमा सरकार स्पस्ट रहेको बताउनुभयो ।
‘‘जनताको जीवनस्तर कसरी फेर्न सकिन्छ भनेर हामी लागि परेका छौ, उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, ‘‘गणतन्त्र प्राप्तिसंगै हरेक नेपाली जनताको सामाजिक, आर्थिक अधिकारसमेत परिवर्तन होस् भनेर सरकारले सोही अनुसार काम गरिरहेको छ ।’’
जनताले अझैपनि राजनीतिक परिवर्तन पुरै अनुभूति गर्न नपाएको भन्दै उहाँले हरेक नागरिकको दैनिक जीवनस्तरमा परिवर्तन ल्याउन सकेमात्र सवैले राजनीतिक परिवर्तनको महसुस गर्ने उल्लेख गर्नुभयो । ।
‘‘गणतन्त्रसंगै संविधानसभामार्फत बनेको संविधानले नेपाली जनतालाई थुप्रै अधिकार दिएको छ, उहाँले भन्नुभयो, ‘‘तर संविधानप्रद्धत्त सवै अधिकार जनताले महसुस गर्ने गरी उपभोग गर्न पाइसकेका छैनन् ।’’ जनताले जतिवेला दैनिक जीवनमा परिवर्तनको महसुस सक्छन त्यतिबेला सवै अधिकार प्राप्तीको महसुस हुने उपप्रधानमन्त्री श्रेष्ठको भनाई छ ।
‘‘अहिले भएको परिवर्तनको मुख्य उद्देस्य हरेक जनताको जीवनस्तर माथि उकास्नका लागि भएको हो, उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, ‘‘आर्थिक तथा सामाजिक हिसावले जनताको जीवनमा परिवर्तन ल्याउन नसके राजनीतिक परिवर्तनले मात्र परिवर्तनको अनभूति हुँदैन ।’’