गोरखा, ११ जेठ । गोरखाको अजिरकोट गाउँपालिकास्थित घ्याच्चोक गाउँ कालोपत्र सडकसंग जोडिने भएको छ । पूर्वाधार विकास कार्यालय गोरखामा मार्फत करिब ३१ करोड ९८ लाख ९३ हजार रुपैयाको लागतमा सिम्जुङदेखि महभिर हुँदै घ्याच्चोकसम्मको सडक कालोपत्रको काम तिव्र गतिमा अघि बढेपछि घ्याच्चोक अव कालोपत्रे सडकसंग जोडिने निश्चित भएको हो ।
सडक कालोपत्रका लागि अहिलेसम्म सडक चौडा गर्ने, मेसिनरी वाल, टेवा पर्खाल लगाउने, ग्याविन जाली भर्नेलगायतका प्रारम्भिक काम अन्तिम चरणमा पुगेको गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले जानकारी दिनुभयो । काम थालेको करिब ५ महिनाको अवधीमा ठेकेदार कम्पनीले सन्तोषजनक काम गरिरहेको उहाँको भनाई छ ।
तोकिएको समयमा काम भए घ्याच्चोक कालोपत्रे सडकसंग जोडिने गाउँपालिकाको पहिलो वडा कार्यालय हुने समेत उहाले बताउनुभयो । ‘‘पालिकाको कुनै पनि वडा कार्यालयसम्म अहिलेसम्म कालोपत्रे सडक पुगेको छैन, अध्यक्ष देवकोटाले भन्नुभयो, ‘‘वडा नम्बर १ को वडा कार्यालय घ्याच्चोक सवैभन्दा पहिलो कालोपत्रेले छुने वडा बन्ने भएको छ ।’’
पालिका भित्रका सवैभन्दा विकट मानिने वडा कार्यालय नै पालिकामा पहिलो पटक कालोपत्रे सडक पुग्ने कुरा सिंगो पालिकाका लागि पनि गौरवको बिषय हुने उहाँको भनाई छ । सिम्जुङ–महाभिर हुँदै घ्याच्चोकसम्मको करिब ८ किलोमिटर दुरी रहेको छ । भिर तथा साधुरो बाटो भएकाले उक्त सडक खण्डमा अहिले जोखिम मोलेर सवारी चलाउनु पर्ने बाध्यता छ ।
बर्खाका बेलामा सवारी आउजाउ पूर्णरुपमा ठप्प हुने हुँदा त्यस क्षेत्रका बासिन्दाहरुलाई सदरमुकाम ओहोरदोहोर गर्न कठिन हुने गरेको छ । उक्त सडक कालोपत्रे गर्नका लागि कार्यालयले कर्णनभ कान्तिपुर जेभीसंग ठेक्का सम्झौता गरेको पूर्वाधार विकास कार्यालय गोरखाका प्रमुख गणेश सुवेदीले जानकारी दिनुभयो ।
गएको असार ठेक्का सम्झौता गरेको भएपनि ठेकेदारले ढिलोगरी काम सुरु गरेको उहाँले बताउनुभयो । कम्पनीले सम्झौता अनुसार २०८२ असारसम्म कालोपत्रेको काम सम्पन्न गर्नुपर्ने प्रमुख सुवेदीको भनाई छ ।