गोरखा, ६ जेठ । गोरखाको गण्डकी गाउँपालिकामा कृषि पेशालाई यान्त्रिकीकरण गर्दै लैजाने उद्देस्यसहित किसानलाई अनुदान हाते ट्याक्टर वितरण गरिएको छ । गाउँपालिकाको वडा नम्बर ५ का १९ जना किसानलाई ५० प्रतिसत अनुदानमा हाते ट्याक्टर वितरण गरिएको गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिना ‘साकार’ ले जानकारी दिनुभयो ।
‘‘वडा कार्यालय मार्फत किसानसंग ५० प्रतिसत लागत साझेदारीमा हाते ट्याक्टर खरिद गरेर वितरण गरिएको हो, उहाँले भन्नुभयो, ‘‘कृषि पेशालाई आधुनिकीकरण गर्दै कृषि उत्पादन बृद्धि गर्न सहयोग पु¥याउन किसानलाई आधुनिक कृषि औजार अनुदानमा उपलब्ध गराइएको हो ।’’
गाउँमा धेरै खेतीयोग्य जमिन भएपनि बिस्तारै बाँझो हुँदै जान थालेकाले किसानलाई प्रोत्साहन गर्न अनुदानमा हाते ट्याक्टर वितरण कार्यक्रमले सहयोग पुग्ने अध्यक्ष तिमल्सिनाको भनाई छ । ‘‘पछिल्लो समय खेती गर्न गाउँमा गोरु पाइनै छाडेका छन्, उहाँले भन्नुभयो, ‘‘अव कृषिलाई प्रविधिमैत्री बनाउदै जानुपर्छ, जसले गोरुको अभावमा जमिन बाँझो रहदैन ।’’
अध्यक्ष तिमल्सिनाले परम्परागत खेती प्रणालीबाट कृषिमा लगानी बढी र उत्पादन कम हुने भएकाले पनि किसानले पर्याप्त लाभ लिन समेत नसक्ने गरेको बताउनुभयो । ‘‘परम्परागत खेती प्रणालीले कृषि उत्पादन बढाउन पनि सकिदैन, उहाँले भन्नुभयो, ‘‘अव लागत कम गरेर उत्पादन बृद्धि गर्नुपर्छ त्यसका लागि कृषिमा यान्त्रिकीकरण गर्नु अनिवार्य छ ।’’
प्रविधिको प्रयोगले कृषिकर्मलाई छिटो, छरितो र प्रभावकारी बनाउने हुँदा यान्त्रिकीकरणबाट कृषकहरुले बढीभन्दा बढी लाभ लिन सक्नेछन् । अनुदानमा हाते ट्याक्टर पाएपछि किसानहरु समेत उत्साहित भएका छन् ।