गोरखा, ४ वैशाख : गोरखामा छुट्टाछुट्टै स्थानमा पौडी खेल्ने क्रममा डुवेर आज दुईजनाको मृत्यु भएको छ । जिल्लाको सिरानचोक गाउँपालिका–१ बिरौटास्थित चेपेखोलामा पौडी खेल्ने क्रममा डुवेर सोही ठाउँ घर भएका १६ बर्षीय मेष तामाङको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
अपरान्ह्र करिब ४ बजेको समयमा तामाङ पौडी खेल्ने क्रममा खोलामा डुवेको प्रहरीको भनाई छ । घटनाको जानकारी प्राप्त भएलगत्तै इलाका प्रहरी कार्यालय जौवारीबाट खटिएको प्रहरीको टोलीले मृतावस्थामा तामाङको शव फेला पारेको हो । यस्तै गोरखा नगरपालिका–१० छेवेटारस्थित दरौदीँ नदीको पौडी खेल्ने क्रममा झापा जिल्ला कमला गाउँपालिका–५, पाडाजुङ्गे घर भएका १८ बर्षीय समिर श्रेष्ठको आज मृत्यु भएको डिएसपी श्रेष्ठले जानकारी दिनुभयो ।
दिउँसो करिब ३ बजेको समयमा श्रेष्ठ पौडी खेल्ने क्रममा नदीमा डुवेका थिए । पालुङटार नगरपालिका–१, खोप्लाङस्थित ठूली आमाको घरमा बस्दै आएका श्रेष्ठलाई नदीमा डुवेर अचेत अवस्थामा फेलापारी स्थानीयको सहयोगमा उद्धार गरी छेवेटार मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
मृतक श्रेष्ठको शव पोस्टमार्टम गरी अन्त्येष्टीका लागि परिवारलाई बुझाइएको छ भने तामाङको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा ल्याइएको प्रहरीको भनाई छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।