सिरहा, ३ जेठ । जग्गाको विषयमा विवादको क्रममा आफ्नै छिमेकीले कोदालो प्रहार गर्दा एक जनाको मृत्यु भएको छ। सिरहाको अर्नमा गाउँपालिमा अर्नमा २ ब्रहमपुरिका करिब ५५ वर्षीय बुधराम महतो र बाचाई महतो बीच आज बिहान खेतको सीमाना विवादका क्रममा कोदालो प्रहारबाट घटनास्थलमै बुधराम महतोको मृत्यु भएको हो ।
लामो समयदेखि जमिन विवाद रहेका उनीहरू आज बिहान खेतमै भेट भएको बेला विवाद चर्किएर कोदालो प्रहार गर्दा बुधरामको मृत्यु भएको वडा अध्यक्ष दिपेन्द्र महतोले जानकारी दिनुभयो ।
वडा अध्यक्ष यादवले उनीहरूबीच लामो समयदेखि जमिनको विषयमा मुद्दा चलिरहेको बताए। जमिनकै विवादका कारण आज यस्तो घटना भएको हुनसक्ने अध्यक्ष यादवको भनाइ रहेको छ ।
हत्या घटना लगतै बचाई फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले अहिले घटनास्थलमा पुगेर घटनाको अनुसन्धान गरिरहेको जनाएको छ। शव घटनास्थलमै रहेको छ । मृतक महतोले लामो बिष्णुपुर चौकमा ग्यास सिलिन्डर, बिउबिजन तथा किटनासक विषादीको पसल संचालन गर्दै आएका छन् ।