Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोली हानिएका स्लोभाकियाका प्रधानमन्त्री खतरामुक्त


1.2K
Shares

गोली हानिएका स्लोभाकियाका प्रधानमन्त्री खतरामुक्त

काठमाडौं, ३ जेठ । स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोको उपचार जारी छ । बुधबार एक सरकारी बैठक सकेर बाहिर निस्किँदै गर्दा मध्य सहर ह्यान्ड्लोभामा उनीमाथि गोली प्रहार भएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार प्रधानमन्त्री फिकोमाथि पाँच गोली लागेको थियो। गोली प्रहार भएपछि उनलाई गम्भीर अवस्थामा अस्पताल पुर्‍याइएको थियो ।

अहिले प्रधानमन्त्री फिको खतरामुक्त रहेको उनका उपप्रधानमन्त्री एवम् वातावरणमन्त्री टोमस टराबाले बताएका छन् । ‘उहाँ अहिले जीवनको खतरामा हुनुहुन्न। बाँच्ने सम्भावना छ,’ उपप्रधानमन्त्री टराबाले बिबिसीसँग भनेका छन् ।

स्लोभाकियाका रक्षामन्त्री रोबर्ट कलिनकका अनुसार डाक्टरहरूले तीन घन्टा लगाएर प्रधानमन्त्री फिकोको शल्यक्रिया गरेका थिए । उनले प्रधानमन्त्री फिकोको पेटमा गोली लागेको बताएका छन् ।

आन्तरिक मन्त्री मातुस सुताज एस्टोकले अपरेशन अगाडि प्रधानमन्त्रीको अवस्था गम्भीर रहेको भएपनि अहिले स्वास्थ्य अवस्था स्थिर रहेको बताएका छन्।

उनले प्रधानमन्त्रीको हत्या राजनीतिक रूपमा प्रेरित रहेको पनि बताएका छन् । प्रधानमन्त्री फिकोमाथि गोली प्रहार गरेको आरोपमा बुधबार नै प्रहरीले एक पुरूषलाई पक्राउ गरिसकेको छ ।

उनी को हुन् भन्ने विषय त्यहाँको प्रहरीले केही खुलाएको छैन । तर स्थानीय सञ्चार माध्यमहरूले उनी ७१ वर्षका लेखक तथा राजनीतिक अभियन्ता रहेको बताएका छन् ।

स्लोभाक र अन्य युरोपेली अधिकारीहरूले यो घटनाबाट स्तब्ध भएको भन्दै निन्दा गरेका छन् । स्लोभाकियाका राष्ट्रपति जुजाना क्यापुटोभाले प्रधानमन्त्रीमाथि हमला हुनु भयानक र नीच काम भएको बताएकी छन्। उनले यो घटनालाई लोकतन्त्रमाथिको आक्रमण पनि भनेकी छन् । सन् २०१८ मा प्रधानमन्त्रीको पद छाडेका फिको गत सेप्टेम्बरमा भएको आम चुनावपछि सत्तामा फर्किएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology