Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

पालुङटार नगरपालिकाद्धारा महिलालाई नौमती पञ्चे बाजा बजाउने तालिम


1.6K
Shares

पालुङटार नगरपालिकाद्धारा महिलालाई नौमती पञ्चे बाजा बजाउने तालिम

गोरखा, २६ वैशाख : गोरखाको पालुङटार नगरपालिकाले महिलाहरुलाई नौमती पञ्जे बाजा बजाउने तालिम दिन सुरु गरेको छ । नगरपालिकाले चालु आर्थिक बर्षको कार्यक्रम अन्र्तगत महिलाको सिप विकास र क्षमता अभिबृद्धिका लागि सोमबारदेखि नौमती पञ्चेबाजा बजाउने तालिम सञ्चालन गरेको नगरप्रमुख विवस चिन्तनले जानकारी दिनुभयो ।

‘‘नौमती पञ्चे बाजाको संरक्षण र सम्बद्र्धनसंगै लोपहुँदै गएको हाम्रो परम्परागत संस्कार र संस्कृतिलाई जर्गेना गर्ने उद्देस्यका साथ तालिमको आयोजना गरिएको हो, उहाँले भन्नुभयो, ‘‘यसबाट एकातर्फ महिलाहरुमा सिप विकास हुँदै जानेछ भने अर्कोतर्फ हाम्रो संस्कृतिको पनि जर्गेना हुनेछ भन्ने विश्वास रहेको छ ।’’

पछिल्लो समय विवाह, ब्रतबन्ध, चाडबाड तथा मेलापर्व र उत्सवहरुमा नौमती पञ्चे बाजाको माग बढी हुने गरेको भएपनि बाजा बजाउनसक्ने दक्ष जनशक्तिको भने अभाव रहदै आएको छ । पञ्चे बाजा बजाउने सिपको पुस्तान्तरण नभएकाले पनि समस्या भएको हो ।

‘‘बाहिरबाट भित्र्याइएका अन्यखालका आधुनिक बाजाको प्रभावले हाम्रो मौलिकता हराएर जाने अवस्था पनि बढ्दै गएको छ, नगरप्रमुख चिन्तनले भन्नुभयो, ‘‘परम्परागत समाजमा कुनै एक समुदायले मात्र पञ्चे बाजा बजाउछन् भन्ने सोचको पनि परिवर्तन गर्दै सिप सवैले सिक्नुपर्छ र काम गर्नुपर्छ भन्ने सन्देश पनि यसखालको तालिमले दिएको छ ।’’

तालिममा बिभिन्न जातजाती र समुदायबाट प्रतिनिधित्व गर्ने महिलाहरुको सहभागिता रहेको उहाँले जानकारी दिनुभयो । नगरपालिकाले ‘‘सिप सिकौँ र रोजगार बनौँ’’ भन्ने नाराका साथ वडा नम्बर ७ मा तालिम सञ्चालन गरेको हो । एक महिनासम्म सञ्चालन हुने नौमती पञ्चे बाजा बजाउने तालिममा २० जना महिलाहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology