गोरखा, २४ वैशाख : भुकम्पले क्षति पु¥याएको गोरखाको सहिद लखन गाउँपालिका–४, स्थित ताक्लुङमा रहेको अर्लाङ्दी मन्दिरको जिर्णोद्धार सम्पन्न भएको छ । राष्ट्रिय पुरातत्व विभागले विनियोजन गरेको रु ३४ लाख ५९ हजार १ सय ४५ रुपैयामा मन्दिर जिर्णोद्धार गरिएको अर्लाङ्दी मन्दिर लेखा तथा सुपरीवेक्षण समितिका संयोजक ध्रुव खनालले जानकारी दिनुभयो ।
विसं २०७२ साल वैशाख १२ गते बारपाक केन्द्रविन्दु भएर गएको विनासकारी गोरखा भुकम्पले पुरातात्विक तथा ऐतिहासिक महत्व वोकेको उक्त मन्दिर पूर्ण रुपमा क्षति भएको थियो । विभागले आर्थिक बर्ष २०७९÷०८० मा बिनियोजन गरेको बजेटबाट मन्दिर जिर्णोद्धार गरिएको उहाँको भनाई छ ।
मन्दिर जिर्णोद्धारका लागि पुरातव्व विभागले भक्तपुरको एम.वि.एण्ड सन्स कन्स्ट्रक्सनसंग ठेक्का सम्झौता गरेको थियो । ‘‘पुरातत्व विभागले विनियोजन गरेको बजेटबाट मूलमन्दिरको साविकको स्वरुप नै कायम रहने गरी जिर्णोद्धारको सवै काम सकिएको छ, त्यसवाहेक मन्दिर वरपरको व्यवस्थापनलगायतका अन्य काम भने मन्दिर संरक्षण समितिले आफै गरिरहेको छ,’’ उहाँले भन्नुभयो ।
अर्लाङ्दी मन्दिर त्यसक्षेत्रको प्रमुख धार्मिक आस्थाको केन्द्र हो । प्रसिद्ध मनकामना मन्दिरको दिदीवहिनी रहेको विश्वास गरिने अर्लाङ्दी मन्दिर सयौ बर्ष पुरानो रहेको मानिन्छ । ‘‘पुरातत्व विभागले गर्ने काम सवै सकिएको छ, मन्दिर बाहिर पहिरोले पनि क्षति पु¥याएको थियो, अहिले पहिरो उकास्नेलगायतका कामहरु भने धमाधम संरक्षण समितिले गर्दैछ,’’ उहाँले भन्नुभयो ।
संरक्षण समितिले भने चन्दा संकलन गरी मन्दिरको संरक्षणका साथै बाटो निर्माण, धारा निर्माणको काम गरिरहेको संयोजक खनालले जानकारी दिनुभयो । मन्दिर जिर्णोद्धार सम्पन्न भएसंगै ताक्लुङमा धार्मिक पर्यटकलाई जोड्न सकिने वडाध्यक्ष यामबहादुर थापाले विश्वास व्यक्त गर्नुभयो ।