काठमाण्डौ १७ वैशाख । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफू प्रधानमनत्री हुने डरले केही व्यक्तिहरुलाई पोल्न थालेको बताउनु् भएको छ । पार्टी निकट अखिल नेपाल महिला संघ समाजवादीले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले यस्तो वताउनु भएको हो । अध्यक्ष नेपालले आफूहरुले समाज बदल्न र गणतन्त्र ल्याउनका लागि भूमिका खेलेको पनि बताउनुभयो ।
‘‘‘हामी प्रधानमन्त्री बन्छौं भनेर कतिपयलाई पोल्न थाल्या छ, कतै प्रधानमन्त्री बनिहाल्छ कि भनेर पनि पोल्न थाल्या छ, उहाँले भन्नुभयो, ‘‘पोल्ने मानिसहरु पनि छन् यो समाजमा, तिनलाई पोले पोलोस्, दन्दनी आगोले पोलिरहोस् त्यस्ता प्रवृत्ति बोक्नेहरुलाई धिक्कार छ म भन्न चाहन्छु ।’’
पूर्वप्रधानमन्त्री नेपालले आफ्नो योगदानलाई कसैले नजरअन्दाज गर्नै नसक्ने समेत उल्लेख गर्नुभयो । ‘‘शान्ति प्रक्रियालाई अघि बढाउन भूमिका खेल्यौं, मुलुकमा निरंकुश शासन ढाल्नका लागि पनि महत्वपूर्ण भुमिका खेल्यौं, उहाँले भन्नुभयो, ‘‘जनतालाई न्याय दिलाउनका लागि पनि महत्वपूर्ण भूमिका खेल्यौं, महिला अधिकारका लागि पनि भूमिका खेल्यौं ।’