गोरखा, १३ वैशाख । गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको विनासकारी गोरखा भुकम्पको आज ९ बर्ष भएको छ । बि.स २०७२ साल वैशाख १२ गते विहान ११ बजेर ५६ मिनेटमा गएको ७ दशमलब ८ रेक्टर स्केलको विनासकारी भुकम्पले गोरखा जिल्लामा मात्र ४ सय ७१ जनाले ज्यान गुमाएका थिए । भुकम्पबाट गोरखा सहित १४ जिल्ला अतिप्रभावित बन्यो भने देशभरका ३१ वटा जिल्लामा गोरखा भुकम्पले क्षति पु¥यायो ।
भुकम्प गएको ९ बर्षमा जिल्ला भित्र अधिकांस नीजिआवास, सरकारी कार्यालयहरु, स्वास्थ्य कार्यालय भवन, विद्यालय तथा प्रमुख पुरतात्विक भवनहरु निर्माणको काम लगभग सम्पन्न भएपनि भुकम्पको केन्द्रबिन्दु बारपाकमै केही भुकम्प पिडितहरु अस्थायी टहरामै छन् । बारपाक सुलिकोट गाउँपालिका–१, स्थित दलितबस्तीका भुकम्प पिडितहरु अझै पनि अस्थायी टहरामा बसिरहेको वडा सदस्य लक्ष्मी बि.कले जानकारी दिनुभयो ।
साविकको बस्ती जोखिमयुक्त रहेकाले अन्य स्थानमा घर बनाउन जग्गा नपाउदा दलित समुदायका परिवार अस्थायी टहरामा बस्नु परेको उहाँले बताउनुभयो । ‘‘गैह्रागाउँका १५ घरभन्दा बढी दलित परिवारहरुले भुकम्पपछि घर बनाउन पाएका छैनन्, वि.कले भन्नुभयो, ‘‘जोखिमपूर्ण रहेकाले पुरानो ठाउँमा घर बनाउन नमिल्ने भएपछि उनीहरु अहिले सरकारी जग्गामा आश्रय लिइरहेका छन् ।’’
अस्थायी टहरामा रहेकामध्ये कतिपयको साविकस्थानमा घर बनाउने चाहाना र कतिपयले सुरक्षित स्थानमा सरेर घर बनाउन चाहेपनि घडेरीको अभावका कारण समस्या भएको उहाँको भनाई छ । ‘‘गैह्रागाउँलार्ई सरकारले जीवित संङ्ग्राहलय बनाउने निर्णय गरेको थियो, बि.कले भन्नुभयो, ‘‘त्यहाँका केही स्थानीयबासीले जग्गा दिन नमानेपछी त्यहाँ संङ्ग्राहलय बन्ने सकेन् त्यसपछि समस्या भयो ।’’
स्मृति उद्यानको काम अलपत्र
भुकम्पको केन्द्रबिन्दु बारपाकमा निमार्ण गर्न लागिएको भुकम्प स्मृति उद्यानको काम समेत अझै सम्पन्न हुन सकेको छैन । गोरखा भुकम्पमा परेर देशभरका ८ हजार ९ सय ७९ जनाले ज्यान गुमाए भने २२ हजार ३०९ जना घाइते भएको तथ्याङ्कमा उल्लेख छ । भुकम्पमा परेर ज्यान गुमाएकाहरुको सम्झनामा केन्द्रबिन्दु बारपार्कमा भूकम्प स्मृति उद्यान निर्माण गर्न लागिएको छ । तर अहिलेसम्म पनि स्मृति उद्यानको काम सम्पन हुन नसकेको संघीय आयोजना कार्यान्वयन इकाई पोखराका इन्जिनियर पुरुषोत्तम पंगेनीले जानकारी दिनुभयो ।
‘‘पूर्वाधार निर्माणको काम त करिब ९८ प्रतिसत नै सकिएको छ, उहाँले भन्नुभयो, ‘‘स्मृति उद्यानमा राख्नका लागि भुकम्पमा परेर ज्यान गुमाएका व्यक्तिहरुको नामावली प्राप्त नहुँदा उद्यान निर्माणको काम सम्पन्न हुन सकिरहेको छैन ।’’ उद्यान निर्माणका क्रममा गोरखा भुकम्पमा परेर ज्यान गुमाएका सवैको नाम स्मृति उद्यानमा ताम्रापत्रमा लेखेर राख्ने गरी सम्झौता भएको उहाँको भनाई छ । उद्यानमा भूकम्पमा परी निधन भएका १४ वटै जिल्लाका मृतकहरुको छुट्टाछुट्टै स्तम्भ रहने छ ।
‘अब ताम्रापत्रमा भूकम्पमा ज्यान गुमाएकाहरुको नाम लेख्न बाँकी रहेको छ, इन्जिनियर पंगेनीले भन्नुभयो, ‘गृह मन्त्रालयलाई नाम उपलब्ध गराउन भनेपनि गृहले अहिलेसम्म नाम उपलब्ध नगराएकाले काम रोकिएको हो ।’ स्मृति उद्यानमा स्तम्भ मण्डला निर्माणमा गरिएको छ भने मण्डलामा चिप्स राख्ने, रङरोगन गर्ने लगायतका काम समेत सम्पन्न भइसकेको इन्जिनियर पंगेनीले बताउनुभयो ।
त्यस्तै उद्यानसम्म पुग्नका लागि ४ सय मिटर सडक कालोपत्र गरिएको, वाल निर्माण, क्यानटिन पार्क निर्माण, टिकट काउन्टर निर्माणको काम सम्पन्न भइसकेको छ । पार्कमा दुई शौचालय, एक चमेना गृह, पार्किङस्थल समेत निर्माण गरिएको इन्जिनियर पंगेनीले जानकारी दिनुभयो । सरकारी स्वामित्वको झण्डै २ सय १६ रोपनी क्षेत्रफलमा स्तम्भ, बगैंचा लगायतका अन्य आबश्यक संरचना निर्माण गरिएको उहाँले बताउनुभयो ।
तोकिएको समयमा काम नहुँदा कार्यालयले ठेकेदार कम्पनीलाई पाँच पटक म्याद थप गरेर काम गरेको इन्जिनियर पंगेनीले बताउनुभयो । निर्माणमा ढिलाई हुँदा पार्क निर्माण सम्पन्न गर्न सूरुमा १३ करोड ६ लाख ३४ हजार ५७८ रुपैयामा ठेक्का सम्झौता गरिएको भएपनि पुनः परिमार्जित सम्झौता अनुसार लागत १५ करोड ५१ लाख ७५ हजार २३९ रुपैया पुगेको आयोजना कार्यालयले जनाएको छ ।
‘‘उद्यान निर्माणको लगभग सकिएको छ, भुकम्पमा परेर ज्यान गुमाएका सवैको नाम ताम्रापत्रमा लेखेर राख्ने गरी सम्झौता भएको थियो, उहाँले भन्नुभयो, हामीले गृहमन्त्रालयसम्म अनुरोध गरिरहेका छौ ।’’ कार्यालयले भुकम्प स्मृति उद्यान निर्माणका लागि बि.स २०७४ मंसिर १४ गते स्वच्छन्द÷होम निर्माण जेभीसंग ठेक्का सम्झौता गरेको थियो । सम्झौता अनुसार ३० महिनामा काम सम्पन्न गर्ने भनिएपनि ढिलोगरी भर्खरै मात्र भौतिक संरचना निर्माणको काम सम्पन्न भएको उहाँले बताउनुभयो ।
इपिसेन्टरलाई पहाडको शहर बनाउने सपना
बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्टले भुकम्पपछि एउटा गाउँको रुपमा रहेको बारपाक अहिले पहाडको नयाँ शहरको रुपमा स्थापित हुन लागेको बताउनुभयो । ‘‘भुकम्पपछि बारपाकको प्रचारमा पनि फरक भयो, उहाँले भन्नुभयो, ‘‘भुकम्पले धेरै घरहरु ध्वस्त थिए, भुकम्प पछाडी बारपाक कस्तो बन्यो होला भन्ने धेरै मान्छेहरुलाई चासो हुनु स्वभाविक नै थियो, त्यसकारण पनि बाहिरका मानिसहरु बारपाक हेर्न र घुम्न आउने क्रम बढ्दै गएको छ ।’’
अध्यक्ष भट्टले बारपाकमा बन्न लागेको भुकम्प स्मृति उद्यानले भुकम्पको केन्द्रबिन्दु बारपाक मात्र नभएर गोरखा भुकम्पको अध्ययन र अवलोकन गर्ने अवसर समेत प्रदान गर्ने बताउनुभयो । ‘‘स्मृति उद्यानसंगै हामीले सङग्राहलय बनाउने योजना पनि छ, उहाँले भन्नुभयो, ‘‘सङ्ग्राहलयमा भुकम्प बेलाको चित्रहरु, तस्विरहरु, भुकम्पका बेलाका भिडियोहरु सहित त्यसबेलाको अवस्थालाई जीवन्त झल्काउने प्रयासपनि गर्नेछौ ।’’
स्मृति उद्यान र सङ्ग्राहलय मार्फत गाउँपालिकाले नेपालभरका नागरिकहरुलाई बारपाकमा पर्यटकको रुपमा भित्र्याएर विपतबाट बच्न र सतर्कता अपनाउन शिक्षा पनि दिन चाहेको अध्यक्ष भट्टले बताउनुभयो ।
‘‘भुकम्पपछि पुनःनिर्माणको काम लगभग अन्तिम अवस्था आइसकेको छ, उहाँले भन्नुभयो, बारपाकमा गल्लीहरुलाई व्यवस्थित गर्ने पनि हाम्रो तयारी छ, ढल व्यवस्थापन, खानेपानीको आयोजनालाई व्यवस्थापन गर्दै वारपाकलाई नयाँ पहाडी शहरको रुपमा स्थापित गर्ने तयारी गरिरहेका छौ ।’’