गोरखा, १० वैशाख । गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा नौ महिनाको अवधीमा केवलकार चढेर ८ लाखभन्दा बढी धार्मिक पर्यटकहरु पुगेका छन् । गएको असारदेखि चैत महिनासम्म मनकामना केवलकार हुँदै ८ लाख २५ हजार धार्मिक पर्यटकहरु मनकामना केवलकार चढेर मनकामना मन्दिरमा पुगेको मनकामना दर्शन प्रा.लिका नायव महाप्रवन्धक उज्वल शेरचनले जानकारी दिनुभयो ।
तथ्याङ्क अनुसार गतबर्षको सोही अवधीको तुलनामा केवलकार हुँदै मनकामना मन्दिर पुग्ने धार्मिक पर्यटकहरुको संख्या बढेको पाइएको छ । गतबर्ष साउनदेखि असारसम्म केवलकार हुँदै ७ लाख ६० हजार मात्र दर्शनार्थीहरु मनकामना मन्दिर पुगेका थिए । ‘‘अघिल्लो बर्ष कोरोना संक्रमणका कारण यात्रुको संख्यामा कमी भएपनि अहिले विस्तारै लयमा फर्किएको छ, उहाँले भन्नुभयो, ‘‘केवलकार चढेर मनकामना मन्दिर पुग्ने दर्शनार्थीको संख्या बढ्दै गएको छ ।’’
मनकामना मन्दिरसम्म पुग्नका लागि मनकामना केवलकारबाट सवैभन्दा छोटो दुरी भएकाले पनि अघिकांस युवायुवती महिला तथा बालबालिका र बृद्वबृद्वाहरु केवलकार चढेर मन्दिरमा पुग्ने गर्दछन् । मनकामना मन्दिर नेपालवाहेक भारतीय तिर्थयात्रीहरुको पनि प्रमुख रोजाईको धार्मिक गन्तव्यको रुपमा चिनिदैँ आएको छ ।
मन्दिरमा पुगेका मध्ये भारतीय तिर्थयात्रीहरु मात्र २ लाख २० हजार भन्दाबढी रहेको महाप्रबन्धक शेरचनले जानकारी दिनुभयो । त्यसवाहेक ४ हजार अन्य विदेशी नागरिकहरु पनि केवलकार हुँदै मनकामना मन्दिरमा पुगेको उहाँको भनाई छ । मन्दिरमा पुगेका मध्ये ६ लाख १ हजार नेपाली धार्मिक पर्यटक रहेका छन् । चालु आर्थिक बर्षको असारसम्ममा मनकामना केवलकार हुँदै १२ लाख भन्दाबढी तिर्थयात्रु मनकामना मन्दिर पुग्ने अनुमान गरिएको महाप्रवन्धक शेरचनले बताउनुभयो ।
गत आर्थिक बर्षमा मनकामना केवलकार हुँदै ११ लाख १२ हजार दर्शनार्थी मनकामना मन्दिरमा पुगेका थिए । ‘‘कोरोना कारण मनकामना मन्दिर आउनेको संख्यामा कमी आएको थियो, उहाँले भन्नुभयो, ‘‘यसबर्ष उक्त संख्या बढेर १२ लाखभन्दा माथि पुग्ने अनुमान गरिएको छ ।’’ मन्दिर आउनजानका लागि सहज हुने भएकाले पनि मनकामना मन्दिर पुग्ने तिर्थयात्री र धार्मिक पर्यटकहरु केबलकार चढेर ओहोरदोहोर गर्ने गर्दछन् ।
नेपाल एकिकरणको इतिहास, धार्मिक महत्व र सामाजिक सद्भावसंग जोडिएको मनकामना मन्दिर गोरखा जिल्लाको पवित्र धार्मिकस्थल हो । मन्दिरमा भाकल गरेपछि मनको इच्छा पुरा हुन्छ भन्ने विश्वास रहेकाले यस मन्दिरको नाम मनकामना मन्दिर राखिएको जनविश्वास रहेको पाइन्छ ।