Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

उत्तरी गोरखाको मनास्लु क्षेत्रमा नौ महिनामा ८ हजार भन्दाबढी विदेशी पर्यटक घुम्न पुगे


1.9K
Shares

उत्तरी गोरखाको मनास्लु क्षेत्रमा नौ महिनामा ८ हजार भन्दाबढी विदेशी पर्यटक घुम्न पुगे

गोरखा, ११ वैशाख । उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ महिनाको अवधीमा ८ हजार भन्दाबढी विदेशी पर्यटक घुम्न पुगेका छन् । चालु आर्थिक बर्षको साउन महिनायता मनास्लु क्षेत्रमा ८ हजार ४ सय ५४ जना विदेशी पर्यटक भ्रमणका लागि मनास्ल्ु क्षेत्रमा पुगेको मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप) गोरखाका प्रमुख सन्तोष शेरचनले जानकारी दिनुभयो ।

चैत महिनामा मात्रै एकहजार आठसय २८ जना पर्यटकले मनास्लु क्षेत्रको भ्रमण गरेको उहाँले बताउनुभयो । मनास्लु क्षेत्र भ्रमण गर्नेहरु मध्ये सार्क राष्ट्र भन्दाबाहिरका पर्यटक अत्याधिक रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यस बर्ष मनास्लु क्षेत्रमा पुगेका पर्यटक मध्ये सार्क राष्ट्रका १५२ जना रहेका छन् भने ८ हजार ३०२ जना अन्य देशका पर्यटक रहेको प्रमुख शेरचनले बताउनुभयो ।

मनास्लु भ्रमण गर्ने पर्यटकहरुमा महिलाभन्दा पुरुष पर्यटकको संख्या बढी रहेको पाइएको छ । उक्त अवधीमा ४ हजार ८५३ जना पुरुष, ३ हजार ५९७ जना महिला र ४ जना अन्यले पर्यटकहरुले मनास्लु क्षेत्रको भ्रमण गरेको कार्यालयको तथ्याङ्कमा उल्लेख रहेको प्रमुख शेरचनको भनाई छ ।

‘‘पछिल्लो समय मनास्लु पदमार्ग ट्रेकिङ टुरिजममा सवैभन्दा बढी सम्भावना बोकेको पर्यटकीय क्षेत्र बन्दै गएको छ, उहाँले भन्नुभयो, ‘‘पर्यटकको आर्कषण हेर्दापनि मनास्लु क्षेत्रमा ट्रेकिङ टुरिजममा सम्भावनालाई झनै बलियो बनाउदै लगेको छ ।’

गएको दुई बर्षको अवधीमा समेत मनास्लु क्षेत्रमा पर्यटकको संख्या बढ्दै गएको पाइएको छ । मनास्लु क्षेत्रमा गएको आर्थिक बर्ष २०७९÷०८० मा ७ हजार ७ सय ५ जना विदेशी पर्यटकले मनास्लु क्षेत्रको भ्रमण गरेका थिए । यो बर्ष सकिनै झण्डै तीन महिना बाँकी रहदा नै गएको आर्थिक बर्षमाभन्दा बढी पर्यटक मनास्लु क्षेत्रमा पुगेका हुन् ।

‘यसबर्ष करिब १२ हजारभन्दा बढी पर्यटक मनास्लु पुग्ने अपेक्षा गरिएको छ, प्रमुख शेरचनले भन्नुभयो, ‘‘अहिलेसम्मको अवस्थालाई हेर्दा कार्यालयले गरेको अनुमान पूरा हुने देखिएको छ ।’’ मनास्लु पदमार्गमा घुम्न पुग्ने पर्यटकहरुले चुम भ्याली तर्फ विश्वकै सर्वाधिक चर्चित श्रृंगी हिमाल, राजेन र मु गुम्बा अबलोकन गर्न पाउनेछन् ।

त्यस्तै नुब्री भ्याली तर्फ कल्छुमन (काल) ताल, विश्वको आठौ अग्लो मनास्लु हिमाल तथा बिरेन्द्र तालको अवलोकन गर्दै लार्के पास गरेर मनाङ पुग्न सक्नेछन् । दुवै क्षेत्रमा हिम चितुवाका साथै नाउर, घोरल, डाँफे, मुनाल र चौरीसंगको सामिप्यतामा पर्यटकहरु रमाउने पाउने भएकाले पनि मनास्लु क्षेत्र पर्यटकको रोजाइमा पर्ने गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology